रास्वपाका ४ सांसदले दिए निर्वाचन आयोगको निर्णयविद्ध उच्च अदालतमा रिट
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना सांसदले निर्वाचन आयोगविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छन्।
सांसदहरु विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आफूहरुले कानुन अनुसार निर्वाचन खर्च विवरण बुझाउने र सार्वजनिक गर्ने गरिसक्दा पनि १५ हजार रुपैयाँ जरिवाना गरेको भन्दै उच्च अदालत पाटनमा रिट दिएका हुन्।
निर्वाचन आयोगले कारबाही गर्नुपूर्व स्पष्टिकरण सोध्नुपर्ने र दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको अवस्थामा मात्र कारबाही गर्नुपर्नेमा प्रक्रिया पूरा नगरी कारबाही गरेको उनीहरुले रिटमा उल्लेख गरेका छन्।
उनीहरुले आफूहरुलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय, पत्राचार र प्रेस विज्ञप्ति गैरकानुनी, स्वेच्छाचारी, अतार्किक र प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएकाले त्यसलाई बदर गर्न माग गरिएको छ।
त्यस्तै निर्वाचन आयोगलाई संवैधानिक र कानून बमोजिमको काम गर्न र जन निर्वाचित प्रतिनिधिको मानमर्दन नगर्न तथा प्रचारमुखी कार्यमा नलाग्न विशेष न्यायिक टिप्पणी समेत जारी गर्न माग गरिएको छ।
निर्वाचन आयोगले निर्वाचन खर्च विवरण बुझाएर त्यसलाई सार्वजनिक नगरिएको भन्दै प्रतिनिधिसभाका एक हजार ३७ जना र प्रदेशसभाका एक हजार ३९८ उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना गरेको थियो।