पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो,एलपी ग्यासको मूल्य घट्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ मूल्य बढाएको हो।

बैठकले एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । आज राति १२ बजेदेखि निर्धारण भएको नयाँ मूल्य लागू हुने जारी सूचनामा उल्लेख छ।

अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ वृद्धि भएको छ।

एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १६६० कायम गरिएको छ। साथै, ह्वाई इन्धनको मूल्य भने यथावत नै राखिएको छ।