नक्कली शरणार्थी प्रकरणका आरोपी अदालतमा
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा परेका १६ जनामध्ये १५ जनाले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका छन्।
उनीहरुको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतले गरेको आदेशको विवरण झिकाउने आदेश दिएको छ। भुटानी शरणार्थी नेता टेकनाथ रिजालले भने हालसम्म उच्च अदालतमा निवेदन दिएका छैनन्।
यो प्रकरणमा उच्च अदालतले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको छ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नताको आरोपमा कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझी, पूर्वसभासद आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत १६ जना जिल्ला अदालत काठमाडौंको आदेशमा १ असारदेखि थुनामा छन्।
जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। दुई जना भने धरौटीमा छुटेका थिए।