पूर्वप्रधानमन्त्रीहरूलाई जोगाउन बालुवाटारमा छलफल

फाइल तस्वीर

काठमाडौं । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गर्नेहरूलाई पनि छानबिन गर्न आदेश दिएसँगै यो विषय गठबन्धन दल र सरकारको टाउको दुखाइ भएको छ।

सर्वोच्चको सो निर्णयसँगै ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने नीतिगत निर्णयमा संलग्न तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा निर्णय प्रमाणीकरण गर्ने मुख्यसचिव लीलामणि पौडेललाई समेत छानबिन गर्नुपर्ने भएपछि त्यसले गठबन्धनधारी दल र सरकारलाई थप समस्या पारेको हो।

ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दर्जनौं व्यक्तिहरूलाई पक्राउ गरी छानबिन गर्दै आइरहेको छ।

सर्वोच्च अदालतले जग्गाको कारोबार गर्ने व्यक्तिलाई मात्रै नभएर ती जग्गाहरू गुठी र व्यक्तिको नाममा जाने गरी निर्णय गर्ने निर्णयकर्ता, टिप्पणीकर्ता र मन्त्रिपरिषद् बैठकको निर्णय प्रमाणीकरण गर्ने मुख्य सचिवहरूमाथि समेत छानबिन गर्न आदेश दिएको थियो।

सर्वोच्चको आदेश आएकै भोलिपल्ट विदेश गएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सोमबार स्वदेश फर्किएको केही समयपछि एकाएक बालुवाटार पुग्नुभयो।

उहाँ आउनासाथ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको बैठक राख्नुभएको थियो। सो बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल तथा कांग्रेस सभापति शेरबहादुर देउवाका साथै अन्य दलका नेताहरूसमेत सहभागी थिए।

यो सामाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।