७४ जिल्लामा फैलियो डेंगु

काठमाडौं । मुलुकभर मनसुनसँगै डेंगुलगायत चिकेनगुनियाजस्तो लामखुट्टेबाट सर्ने रोगको संक्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म डेंगु संक्रमण ७४ जिल्लामा फैलिसकेको छ। डेंगु संक्रमणबाट हालसम्म १३ हजार २ सय ९२ जना बिरामी भएका छन्। साथै डेंगुबाट १० जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ।

अस्पतालमा उपचार गराउन जाने बिरामी उल्टो अस्पतालबाटै बिरामी भएर फर्कनुपर्ने उच्च जोखिम देखिएको छ। राजधानीका अधिकांश अस्पताल परिसरभित्र बिग्रिएको उपकरणमा जम्ने पानीबाट डेंगु संक्रमण फैलनसक्ने उच्च जोखिम देखिन्छ।

मेडिकल उपकरणमा जम्ने पानी खुला छाडिँदा त्यस्तो ठाउँबाट डेंगु फैलाउने लामखुट्टेलाई सहज बनिरहेको छ। राजधानीको त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल परिसरभित्र पानी जम्ने ठाउँ खुला देखिन्छन्, जहाँ डेंगु फैलाउने लामखुट्टेलाई बस्न सहज भइरहेको छ।

कतिपय अस्पतालमा बिग्रिएका उपकरण र थोत्रा टायरमा पानी जमेर बसेको भेटिन्छन्। जसले गर्दा डेंगु लागेर उपचार गराउन जाने बिरामी नै थप जोखिममा पर्ने सम्भावना देखिएको छ। यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।