श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुग्याे
काठमाडौं। श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको छ। बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा जारी सूचनाअनुसार चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको हो।
मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्याएको सूचनामा उल्लेख छ।
वृद्धि भएको पारिश्रमिक सूची हेर्दा आधारभूत पारिश्रमिक १० हजार ८२० र महंगी भत्ता ६ हजार ४८० सहित १७ हजार ३ सय पुगेको छ। यसअघि न्यूनतम मासिक पारिश्रमिक रकम १५ हजार रुपैयाँ रहेको थियो।
जारी सूचनामा श्रमिकको दैनिक पारिश्रमिक ६६८ रूपैयाँ, प्रति घण्टा ८९ रुपैयाँ र आंशिक समयमा मात्रै काम गर्ने कामदारको प्रति घण्टा ९५ रुपैयाँ पारिश्रमिक पुगेको छ।
चिया बगानका श्रमिकको मासिक पारिश्रमिक भने १३ हजार ८९३ रुपैयाँ पुर्याइएको छ। यसअघि चिया बगानका श्रमिकले मासिक रकम १२ हजार ८१ रुपैयाँ पाउदै आएका थिए। अहिले उनीहरुको दैनिक पारिश्रमिक ५ सय रुपैयाँ वृद्धि भएको छ भने यसअघि सो रकम ४३५ रुपैयाँ थियो।