गृहमन्त्री श्रेष्ठ सरकार छाड्न तयार,भ्रष्टाचारविरुद्धको अभियानबाट पछि नहट्ने

फाइल तस्वीर

काठमाडाैं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफू बरु सरकार छाड्न तयार रहेको तर भ्रष्टाचारविरुद्धको अभियानबाट पछि नहट्ने बताएका छन्।

भ्रष्ट र तस्करहरको धम्कीबाट आफू नडराउने बताउँदै उनले सरकारको सुशासन अभियानविरुद्ध त्यस्ता तत्व सक्रिय भएर लागिपरेको बताए।

आज (शुक्रबार) गोरखाको अजिरकोट गाउँपालिका– २ भच्चेकमा निर्माण गरिएको भच्चेक आधारभूत अस्पतालको उद्घाटन गर्दै उनले सरकारको सुशासन अभियान जारी रहेको बताए। केही ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुले धम्की दिँदैमा आफू नडराउने र अभियान जारी राख्ने उनले बताए।

त्यस्ता समूहले घेराबन्दी गरेर आफूलाई अप्ठेरोमा पार्न खोजे बरु सरकार नै छाड्ने तर सुशासनको अभियान कुनै हालतमा नरोक्ने उनले प्रस्ट पारे। उनले राजनीतिक परिवर्तनलाई सामाजिक तथा आर्थिक परिवर्तनसँग जोड्नुपर्ने समेत बताए।