दर्शन : दार्शनिक फाँटमा द्वन्द्ववादका नियम तथा सिध्दान्तहरु

– हस्तबहादुर केसी
 
दार्शनिक फाँटमा तीन नियमहरु
( १)  विपरीत तत्वहरुबीच एकता , संघर्ष र रुपान्तरणको नियम , (२) मात्रात्मक  परिवर्तनमा गुणात्मक फड्कोको नियम र (३) सकार नककार र  नकार सकारको नियम द्वन्द्ववादका यी तीन नियमहरु अन्तर्विरोधका आधारभूत नियमहरु हुन् , जसलाई तल बृस्त्रित रुपमा व्याख्या गर्ने प्रयत्न गरिनेछ,यी  तीन नियमहरु प्रकृति ( वस्तु ) ,समाज ,विचारधारा आदि क्षेत्रमा लागु हुन्छ।
 
प्रकृति,समाज,विचारधारा लगायत हरेक क्षेत्रमा विद्यमान रहने अन्तर्विरोधका नियमहरु यसै भित्र पर्दछ र यिनै द्वन्द्ववादका तीन नियमका आधारमा समाधान गरिन्छ। दार्शनिक क्षेत्रमा रहेका द्वन्द्ववादका यी तीन नियमहरु अत्यन्तै गहन विषय हुन्।
 
दार्शनिक ज्ञान आर्जन गर्न चाहने र संसारलाई बुझ्न , व्याख्या विश्लेषण गर्ने बदल्न जो कोहीले पनि द्वन्द्वात्मक भौतिकवादका यी तीन आधारभूत नियमहरुलाई नबुझिकन,गहन अध्ययन नगरिकन र त्यसका सामान्य भन्दा पनि सामान्य नियमहरु नबुझिकन प्रकृतिका क्षेत्रमा,सामाजिक जीवनका क्षेत्रमा ,विचारका क्षेत्रमा पैदा हुने अन्तर्विरोधहरुलाई , प्रधान अन्तर्विरोध तथा गौण अन्तर्विरोधहरु खुट्याएर ती अन्तर्विरोधहरुलाई वैज्ञानिक तथा व्यवहारिक रुपले समाधान गर्न सकिने विषय भएकोले यसका नियमहरुलाई गहराइमा पुगेर अध्ययन गर्न र बुझ्न जरुरी हुन्छ।
 
त्यसैले यी नियमहरुलाई्  सर्वसाधारण अध्ययताहरुलाई  समेत बुझ्न  सहयोग हुने अपेक्षाका साथ सकेसम्म सरल भाषा,शैली र शब्दावलीहरु तथा पदावलीहरु राख्ने प्रयत्न गरिएको छ।
 
( १) विपरीत तत्वहरुबीच एकता , संघर्ष र रुपान्तरणको नियम : 
—–===—
सर्वप्रथम हामीले यो कुरा बुझ्न जरुरी छ कि विपरीत तत्वहरुबीच एकता , संघर्ष र रुपान्तरणको नियम भौतिकवादी द्वन्द्ववादको आधारभूत नियम हो । यो नियमलाई नबुझिकन बाँकी अन्य दुई नियमहरुलाई बुझ्न सकिदैन। भौतिकवादी द्वन्द्ववादका विषय माथि पढिसकेका छौ। यसलाई सरल ढंगले बुझ्ने गरी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान् नेता भी.आई.लेनिनले बताउनु भएको छ।
 
उहाँले विपरीत तत्वहरुबीच एकता ,संघर्ष र रुपान्तरणको निगमलाई “द्वन्द्ववादको  गुदी”बताउनु भएको छ। यस अनुसार हामीले के कुरा बुझ्नुपर्छ भने हरेक वस्तुमा दुई अन्तर्विरोधपूर्ण पक्ष हुन्छन्,ती आपसमा लडिरहेका हुन्छन् , ती आफ्नै अस्तित्वका लागि एक अर्कोसित आन्तरिक रुपले गाँसिन बाध्य भएका हुन्छन्। ती दुबै पक्ष गतिशील र सजीव हुन्छन् र कुनै खास अवस्थामा ती एक अर्कोमा बदलिन्छन्।
   
अब हामी गहिरिएर,समुद्रको सतहमा पुगेझै गरी यस विपरीत तत्वहरुबीच एकता ,संघर्ष र रुपान्तरणको नियमकाबारेमा बुझ्न तयार हुन्छौं। हामीले के पाउँछौं भने विरोधीहरु आफ्नो अस्तित्वका लागि कसरी एकरूप हुन्छन् र ती कसरी एक अर्कोमा बदलिन पुग्छन् ? यसबाट स्पष्ट हुनका लागि हामीले एउटा उदाहरण लिन सक्छौ कि आज पुँजीवादी समाज एउटा वस्तु हो,त्यसमा पुँजीपतिवर्ग सर्वहारावर्ग जस्ता परस्पर अन्तर्विरोधपूर्ण पक्ष छन्। हामीले देखिरहेका छौ दुबै वर्गका स्वार्थ बेग्लाबेग्लै छन् ।तर पनि ती आन्तरिक रुपले आपसमा गाँसिएका छन् र उनीहरूबीच एकता पनि। 
     
त्यस्तै प्रकृति र सामाजिक जीवनका हरेक क्षेत्रमा यो बराबर लागु हुन्छ । जस्तो कि गणितमा जोड र घटाउ , यन्त्र विज्ञानमा क्रिया र प्रतिक्रिया ,, भौतिक विज्ञानमा ऋणात्मक र धनात्मक विद्युत , रसायन विज्ञानमा परमाणुहरुको संघटन र विघटन , समाज विज्ञानमा – वर्गसंघर्ष र सैन्य विज्ञानमा आक्रमण र रक्ष , दर्शनशास्त्रमा – आदर्शवाद र भौतिकवाद अर्थात् अधिभुतवाद र द्वन्द्ववाद आदि ।
         
यसैगरी समाज विज्ञानकै क्षेत्रमा हामी देख्दछौ कि पुँजीपतिलाई माल उत्पादनका लागि श्रमशक्ति किन्नुपर्ने र मजदुरलाई आफ्ना आवश्यकता पुरा गर्नका लागि श्रमशक्ति बेच्नु पर्ने बाध्यता छ। हामीले स्पष्टरुपमा बुझ्नुपर्छ कि यही नै विपरीत तत्वबीचको एकता हो। किनभने एकको उपस्थितिबिना अर्कोको अस्तित्व हुँदैन।
 
जस्तै पुँजीपति हुदैन भने मजदुर पनि हुँदैन।  संगसंगै भएर पनि   फेरि उनीहरूबीच तीव्र संघर्ष पनि चलिरहेको छ। माल उत्पादन गरिसकेपछि पुँजीपतिले मुनाफा बढाउन चाहन्छ भने त्यसको ठिक उल्टो सर्वहारा ( मजदुर ) वर्गले मजदुरी ( ज्याला ) बढाउन चाहन्छ। मजदुरी नघाटाई पुँजीपतिलाई मुनाफा बढ्दैन भने मुनाफा नघटाई मजदुरलाई  मजदुरी ( ज्याला ) बढ्दैन। मुनाफा र मजदुरी ठिक उल्टा कुरा हुन्।
 
यसरी मुनाफा र मजदुरीको खिचातानीलाई लिएर पुँजीपति र मजदुरकाबीच हुने लडाइँ परस्पर विरोधी पक्षकाबीचको संघर्ष हो । दुबैकाबीच यो संघर्ष ( वर्गसंघर्ष )  लगातार बढ्दै जान्छ र आखिरमा पुँजीपतिवर्ग शासितकवर्गका  रुपमा बदलिन पुग्छ र शासित सर्वहारा ( मजदुर ) वर्ग चाहिँ शासक वर्गको रुपमा बदलिन पुग्छ।  
       
त्यस्तै ज्ञान -सिध्दान्तका क्षेत्रमा जुन दार्शनिक प्रवर्गहरु छन् ,तिनमा पनि यही नियम लागु हुन्छ। उदाहरणका लागि पदार्थ र गति , पदार्थ र चेतना ,कारण र कार्य ,मात्रा र गुण ,सार (अन्तर्वस्तु) र रुप ,आवश्यकता र मौका,वास्तविकता र संभावना,सामान्य र विशेष आदि दार्शनिक प्रवर्गहरु एक अर्को विरोधी पक्षसंग घनिष्ठरुपले गाँसिएका छन् र ती खास परिस्थितिमा एक अर्कोमा बदलिन पुग्दछन्।
   
साथै प्रकृति , वस्तु र सामाजिक जीवनका हरेक क्षेत्रमा  विरोधीहरुबीच एकता र संघर्ष पाइन्छ । हरेक विरोधी पक्षहरु आ- आफ्नो अस्तित्वका लागि परस्पर मिल्न बाध्य हुन्छन्। प्रकृतिमा दिन नभई रात हुन्न , रात नभई दिन हुन्न ,चिसो  नभई तातो  हुन्न , तातो नभई चिसो हुन्न। गह्रौं नभई हलुको हुन्न , हलुको नभई गह्रौ हुन्न। ठूलो नभई सानो हुन्न , सानो नभई ठूलो हुन्न। अग्लो नभई होचो हुन्न ,होचो नभई अग्लो हुन्न। बलियो नभई नर्बलियो हुन्न , निर्बलियो नभई बलियो हुन्न। जीवन नभई मृत्यु हुन्न , मृत्यु नभई जीवन हुन्न। शोसक नभई शोषित हुन्न , शोषित नभई शोषक हुन्न। असामी नभई साहु हुन्न , साहु नभई असामी हुन्न । राम्रो र नराम्रो ,नयाँ र पुरानो , सत्य र असत्य , न्याय र अन्याय , मालिक र नोकर  आदि यसै कुराका उदाहरण हुन् ।
     
विचारका क्षेत्रमा जस्तो कि कम्युनिस्ट पार्टी भित्र सही र गलत पक्षबीच जुन अन्तर्संघर्ष ( दुईलाईन संघर्ष ) चल्छ , त्यो पनि यसै कुराको उदाहरण हो। वस्तुमा रहेका उक्त विरोधी पहलुहरु जब एक अर्कोमा बदलिन्छ,त्यो बेला एकताको पुरानो प्रक्रिया भत्किन्छ र नयाँ प्रक्रियाको थालनी हुन्छ। यो प्रक्रिया निम्नबाट उच्चस्तरमा विकसित हुँदै  निरन्तर अगाडि बढ्छ।
       
विरोधी पक्षहरुको एकता र संघर्षबारे चर्चा गर्दैगर्दा हामीले यी दुई कुरामा ध्यान दिनु आवश्यक हुन्छ  पहिलो : एकता र संघर्ष छुट्टाछुट्टै क्रममा अर्थात् कहिले एकता र कहिले संघर्षका रुपमा होइन,एकैसाथ संगसंगै चल्ने गर्दछन्।
 
दोस्रो : त्यसप्रकारको एकता केवल क्षनिक ,अस्थायी र सापेक्ष कुरा हुन्छ र त्यसमा संघर्षको प्रक्रिया नै निरपेक्ष रुपमा अगाडि बढिरहेको हुन्छ। आखिरमा गएर यो संघर्षमा पुरानो पक्षमाथि नयाँको ,खराब पक्षमाथि असल पक्षको,विनासशील पक्षमाथि विकासशील पक्षको विजय सुनिश्चित हुन्छ।
त्यसैले वर्गसंघर्षको भीषण प्रक्रिया अन्तर्गत सामन्त ,पुँजीपति ,विस्तारवादी ,प्रभुत्ववादी ,साम्राज्यवादी र तमाम प्रकारका शोषकहरुको हार र मेहनतकस जनता वा सर्वहारा वर्गको जीत अबश्यंभावी बन्छ। 
 
(२) मात्रात्मक परिवर्तनमा गुणात्मक फड्कोको नियम :
—-=—-
कुनै वस्तुमा दुई परस्पर विरोधी पक्षहरुबीच संघर्ष चल्दै जाँदा कुनै एक पक्षको विजय हुन्छ वा नयाँ तत्वको विकास हुन्छ,त्यसैलाई  परिवर्तन भनिन्छ । परिवर्तन दुई प्रकारका हुन्छन् : 
 
( क) मात्रात्मक र 
( ख) गुणात्मक । 
               
कुनै वस्तुमा क्रमिक विकास मात्र हुनु तर त्यसको स्वरूप र गुणमा कुनै फरक नदेखिनु मात्रात्मक परिवर्तन हो। फड्को मारेर त्यसको स्वरुप र गुणमै फरक देखिनु गुणात्मक परिवर्तन हो। उदाहरणका लागि  पानी क्रकश:  तातिनै जानु। मात्रात्मक परिवर्तन हो।
 
त्यतिखेर पानी त तात्छ तर त्यो पानी नै हुन्छ र त्यसमा पानी कै गुण हुन्छ। जस्तै १०० डिग्री से. ग्रे. तापक्रममा पुग्छ पानी उम्लेर वाफ बन्छ। त्यतिखेर पानी नै रहन्न , त्यसको स्वरूप र गुण पनि फेरिएर त्यसभन्दा बेग्लै वाफको स्वरूप र गुण देखिन्छ। यो गुणात्मक परिवर्तन हो। 
   
कार्ल मार्क्स ( १८१८- १८८३) र फ्रेडरिक एंगेल्स (१८२०- १८९५) द्वारा मार्क्सवाद र मार्क्सवादी दर्शनको प्रतिपादन र अण्वेषण पश्चात् मार्क्सवादको पथप्रदर्शनमा ठूला ठूला सामाजिक (राजनीतिक) क्रान्तिहरु सम्पन्न भए । सामाजिक क्रान्ति पनि यसै परिवर्तनका फल हुन्।
 
उदाहरणका रुपमा यो लिन सकिन्छ कि जस्तो सन १९१७ अक्टोबर २५ (नयाँ पात्रो अनुसार नोभेम्बर ७) महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । त्यो एक युगान्तकारी कदम थियो । रुसको सर्वहारा वर्गले पहिले कम्युनिस्ट पार्टीको नेतृत्वमा सचेत र संगठित हुँदै गयो।
 
सन १९०५ मा सशस्त्र विद्रोह गर्यो। त्यो विद्रोह असफलतामा टुंगियो। रुसको सर्वहारा वर्गले तमाम प्रकारका सफलता र असफलताका सकारात्मक र नकारात्मक अनुभवबाट आफूलाई सक्षम बनाउँदै लग्यो ।त्यो मात्रात्मक परिवर्तन थियो।आखिरमा जब उसले  १९१७ अक्टोबरमा पुगेर पुँजीपतिवर्गलाई ध्वस्त पारी आफू सत्ताधारी बन्यो।त्यो गुणात्मक परिवर्तन थियो।
 
त्यसै परिवर्तनले गर्दा पहिलेको शासक वर्ग ढल्यो र त्यतिखेरको शासित सर्वहारा वर्ग शासक बन्न पुग्यो। त्यो मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनमा फड्को मार्यो। रुसको व्यवस्थामा नै मौलिक परिवर्तन भयो ।  नयाँ सर्वहारा वर्गीय सत्ताको जन्म भयो । यो सकारात्मक पक्ष हो । नयाँ युगको जन्म गरायो अक्टोबर क्रान्तिले। 
       
अर्को नकारात्मक पक्ष पनि विद्यमान रहेको हुन्छ।  कुनै बेला परिवर्तन उल्टो दिशातिर पनि हुने गर्दछ ।जस्तो कि १९५३ मा तत्कालीन रुसी महासंघका नेता स्टालिनको मृत्यु भयो। त्यत्पश्च्यात रुसमा प्रतिक्रान्ति भयो। सोभियत समाजवादी व्यवस्था ढल्यो। सन १९७६ माओ त्सेतुङको निधन भयो। त्यस पश्चात् चीनमा प्रतिक्रान्ति भयो। साथै नेपालमा पनि शान्ति प्रक्रियासंगै नेपाली माओवादी आन्दोलनमा पनि प्रतिक्रान्ति भयो । महान् दश वर्षे जनयुद्धबाट प्राप्त भएका उपलब्धिहरु गुम्न पुगे । परन्तु त्यो क्रान्तिको लामो र जटिल प्रक्रियाभित्रको अस्थायी हार मात्र हो र अन्तिम अर्थमा परिवर्तन सुल्टै दिशामा हुन्छ । यो विज्ञानको नियम हो। गतिको नियम हो। 
     
परिवर्तन भनेकै विकास हो । विकास भनेको विरोधीहरुबीचको संघर्ष हो । कुनै पनि चीजको विकास समान ढंगले हु सक्दैन।अन्तर्विरोधका प्रधान र अप्रधान (गौण) पहलु हुने परिवर्तनको क्रममा यसो हुन्छ । त्यसैले क्रान्ति , परिवर्तन वा विकासलाई सरल होइन , बक्र र असमान ढंगले हुने विकासका रुपमा ग्रहण गर्नुपर्ने हुन्छ । 
     
मात्रात्मक परिवर्तनको गति सर्प जस्तै सुल्ल सुल्ल हुन्छ। तर गुणात्मक परिवर्तनको गति भने भ्यागुताको जस्तै ठाउँ छोडेर उफ्रिने हुन्छ । दक्षिणपन्थी अवसरवादीहरुले मात्रात्मक परिवर्तनलाई मात्र जोड दिन्छन्। जस्तै नेपालका नामधारी कम्युनिस्टहरू पटकपटक सरकारमा जाने र सामान्य सुधारका कार्यलाई मात्र जोड दिन्छन् र सबथोक भइसक्यो भन्ने कुप्रचार गर्दै आएका छन्।  त्यस्तै उग्रपन्थी अराजकतावादीहरुले गुणात्मक परिवर्तनलाई मात्र जोड दिन्छन्। क्रान्तिकारीहरुले मात्रााात्ममक परिवर्तनको आवश्यकतामाथि ध्यान दिदै गुणात्मक परिवर्तनतर्फ जोड दिइरहेका हुन्छन्।
   
हामीले बुझ्ने कुरा के हो भने संसारमा कुनै पनि वस्तु स्थायी छैन । हरेक वस्तु परिवर्तनशील छ । जस्तो अहिले प्रतिक्रियावादीहरुको सत्ता बलियो जस्तो र जनताको स्थिति कम्जोर देखिए पनि यो क्षणिक एवं अस्थायी कुरा हो । परिवर्तनको क्रममा त्यो सत्ता त्यो सत्ता कम्जोर र जनताको स्थिति मजबुत हुँदै जान्छ । कुनै जमान जार , हिटलर , च्याङकाइसेक पनि धेरै मजबुत थिए तर जनताको सामुन्ने उनीहरूको हार भएरै छाड्यो। 
   
हाम्रै देश नेपालमा पनि १०४ वर्षसम्म जनताको बीचमा बिगबिगी मच्चाएको राणा शासन खतम भयो ४० वर्षसम्म हैकम जमाउदै आएको निरंकुश पञ्चायती व्यवस्था ढल्यो। २४० वर्षीय सामन्ती राजतन्त्रको अन्त्य भयो। अहिलेको संसदीय व्यवस्थालाई कम्युनिस्ट – काँग्रेसरुपी खच्चडहरुले अजम्मरी देखाउन कोसिस गरिरहेका भए पनि प्रस्तावित महान् नेपाली  नयाँ जनवादी क्रान्तिका सामु त्यो कुनै दिन पक्कै धराशायी बन्ने निश्चित छ । किनकि विकासको प्रक्रियामा नयाँले पुरानोको लिएरै छाड्छ । त्यसो भएर नै माओ त्सेतुङले ” ध्वंसबीना  निर्माण हुन्न ” भन्नुभएको छ।  
   
आजको युग साम्राज्यवाद र सर्वहारा बीचको भीषण संघर्षको युग हो । र गतिशील युग हो । यो विज्ञानले पुष्टि गरिसकेको कुरा हो । त्यसैले विश्व सर्वहारा क्रान्ति अवश्यम्भावी छ।  मात्रात्मक परिवर्तनबाट गुणात्मक फड्कोको नियम बमोजिम नै समाज विकासको क्रममा वर्गबिहिन राज्यबिहीन वैज्ञानिक साम्यवादको जन्म हुनेछ। 
 
 (३) निषेधको निषेध नियम :
—-===—
प्रकृति विज्ञान ( वस्तु ) को क्षेत्रमा  फ्रेडरिक एंगेल्सको विश्लेषण अनुसार कुनै वस्तुलाई हटाई त्यसको ठाउँ ओगट्ने , वस्तुलाई अर्को वस्तुले हटाउँछ र फेरि त्यसको ठाउँ ओगट्छ । यो प्रक्रिया पुरा हुदा उही कुरा दोहोरीएको जस्तो देखा पर्छ , तर त्यस्तो भएको हुँदैन। बरु पहिलेको वस्तु भन्दा गुणात्मक रुपले बेग्लै नयाँ वस्तुको जन्म भएको हुन्छ । यसै प्रक्रियालाई निषेधको निषेध भनिन्छ। 
   
उदाहरणका रुपमा मकैको गेडा रोपेपछि बिरुवा उम्रन्छ , बिरुवाले मकैको दाना निषेध गर्दछ । यो पहिलो निषेध भयो । मकैको बिरुवा बढ्दै जान्छ र त्यसमा घोगा लाग्छ , त्यसले पाकेपछि बोटको निषेध गर्दछ । यो दोस्रो निषेध भयो। 
   
त्यस्तै सामाजिक विज्ञानको क्षेत्रमा प्रारम्भिक आदिम साम्यवादलाई पहिलो वर्ग समाज दास समाज व्यवस्थाले निषेध गर्यो । दास युगिन सामाजिक व्यवस्थालाई सामन्ती सामन्ती सामाजिक वर्गीय व्यवस्थाले निषेध गर्यो। पुँजीवादी ( क्रान्ति ) व्यवस्थाले  सामन्ती व्यवस्थालाई निषेध गर्यो । नयाँ जनवादी तथा वैज्ञानिक व्यवस्था ( क्रान्ति ) पुँजीवादी व्यवस्थालाई निषेध गरेर वैज्ञानिक साम्यवादको स्थापना गर्नेछ। 
   
त्यस्तै दार्शनिक क्षेत्रमा पहिले स्वत: स्फुर्त भौतिकवाद थियो। त्यसलाई यान्त्रिक भौतिकवादले निषेध गर्यो , फेरि त्यो यान्त्रिक भौतिकवादलाई द्वन्द्वात्मक भौतिकवादले निषेध गर्यो। 
 
अब हामी हेरौं , मकैको गेडाको ठाउँमा मकै , साम्यवादी समाजको ठाउँमा साम्यवादी समाज र भौतिकवादको ठाउँमा भौतिकवाद आउन पुग्यो। यहाँ वस्तु पुनः दोहोरीएजस्तो देखिन्छ तर त्यो होइन , पहिलेको वस्तुभन्दा गुणात्मक रुपले बेग्लै वस्तुको जन्म भएको हो । यो नियम पनि प्रकृति र सामाजिक जीवनको क्षेत्रमा  व्यापक रहेको छ । हरेक ऋतुले अर्को ऋृतुको निषेध गर्दछ । जस्तै पहाडहरु  भएको ठाउँमा महासागर र महासागर भएको ठाउँमा पहाडहरु बन्दछन् । यसबाट के निष्कर्षमा पुगिन्छ भने सृष्टिको हरेक प्रक्रिया निषेधको निषेधमा आधारित छ ।
     
यसमा प्रश्न उठ्न सक्छ – त्यसो भए भावी साम्यवाद वर्गसााजको निषेधबाट जन्मने भएको र हरेक वस्तुमा निषेधको निषेध नियम लागु हुने भएकोले के त्यसको पनि निषेध हुदैन ? यस प्रश्नका उत्तर हुन् :
 
पहिलो यो नियम लागु हुनका लागि परस्परविरोधी पक्षहरुबीच संघर्ष हुनु आवश्यक सर्त हो ।भावी साम्यवादी समाजमा परस्परविरोधी वर्गहरुबीच संघर्ष नहुने भएकोले त्यो समाजको निषेध हुदैन । दोस्रो – जुन वस्तुको जन्म हुन्, त्यो वस्तु मर्दछ ।साम्यवादी समाज पनि जन्मिने भएकोले त्यसको पनि मृत्यु निश्चित छ । आखिर यो पृथ्वी पनि मर्दछ । यिनमा पहिलो कुरा सापेक्ष रुपमा र दोस्रो कुरा निरपेक्ष रुपमा सत्य हुन् ।
 
 दार्शनिक फाँटमा माओ त्सेतुङले गरेको विकास : 
——===—-
दार्शनिक फाँटमा  द्वन्द्ववादका नियम र सिध्दान्तहरुबारे अन्तर्राष्ट्रिय सर्वहारा वर्गका नेता तथा चिनिया कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङले विकास गर्नुभएको छ –  
     
(१) विपरीत तत्त्वको एकत्व । कम्युनिस्ट पार्टी विपरीत तत्वको एकत्व भएको र कम्युनिस्ट पार्टीभित्र चल्ने दुई लाईन संघर्ष पार्टीको ज्यान भएको बताउनु भएको छ र पार्टी भित्र दुई लाईन ( विचारधारात्मक : संघर्ष ) समाप्त भए , पार्टीको मृत्यु हुने कुरा बताउनु भएको छ  
     
(२)  कुनै पनि वस्तु , प्रकृति र मानव समाजको निधेषको निषेध होइन , सकार – नकार , नकार – सकारको सिध्दान्त स्थापित गर्नु भएको छ र नकारात्मक पक्षलाई पन्छ्याउनलेे र सकारात्मक पक्षलाई समेट्ने कुरा बताउनु भएको छ ।
       
(३) एकको दुईमा विभाजन । 
       
(४) ज्ञान – सिध्दान्तको क्षेत्रमा – दुई छलाङको सिध्दान्त ।   व्यवहार ज्ञान  व्यवहारको वैज्ञानिक सूत्रीकरण र ज्ञानका दुई चरणको आविस्कार ।      प्रतिपादन गर्नुभएको छ ।
   
(५) अन्तर्विरोधका सन्दर्भमा : आधारभूत अनणतर्विरोध ,प्रधान अन्तर्विरोध , अन्तर्विरोधको प्रधान पहलु , अन्तर्विरोधको पहिचान तथा परिचालन विधि 
 
 (६) दर्शन संघर्षको हुने भन्दै माओ त्सेतुङले दर्शनको जन्म वर्गसंघर्षकोबीचबाट हुने बताउनु भएको छ । र , मार्क्सवादी दर्शनलाई संघर्षको दर्शन भन्नुभएको छ । 
   
निष्कर्ष :
 यहाँ दार्शनिक फाँटमा रहेका द्वन्द्ववादका नियम र सिध्दान्तहरुका बारेमा कार्ल मार्क्स ( १८१८ – १८८३ ) र फ्रेडरिक एंगेल्स ( १८२० – १८९५)  द्वारा  द्वन्द्ववादका  तीन नियमहरु र सिध्दान्तहरुका साथै लेनिन र माओ त्सेतुङले विकास गर्नु भएका सिध्दान्त र नियम र शिक्षाहरुलाई समेत समावेश गरिएको छ।  
   
द्वन्द्ववादका यी तीन नियमहरुको अध्ययनबाट हामी के पाउँछौं परिवर्तनको मुख्य कारण परस्परविरोधी तत्वहरुबीच आन्तरिक संघर्ष नै प्रमुख हो र परिवर्तनको मुख्य कारण आन्तरिक हुन्छ र बाह्य कारण कारण सहयोगी मात्र हुन्छ।  
   
यी विषयहरु दर्शनसंग सम्बन्धि भएकाले यसको अध्ययनलाई छिपछिपेबाट गहिराइतिरबाट , सरलबाट जटिलतिरबाट विकास गर्दै दार्शनिक ज्ञान भण्डारलाई समृद्ध प्रार्दै अगाडि बढ्नुपर्ने हुन्छ। त्यसैले सर्वसाधारण अध्ययताहरु समेतलाई पढ्न र बुझ्न सजिलो हुनेछ भनेर यस आलेखमा सकेसम्म सरल भाषा,शब्द र शैली प्रयोग गर्ने प्रयास गरिएको छ। तैपनि समस्या  सिमारहित हुन सक्तैन । थुप्रै कमीकमजोरी अवश्यै छन्,सच्याउन सहयोगको अपेक्षा राखेको छु।
 
( लेखक – क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका सचिवालय सदस्य हुनुहुन्छ)