महिला टि–ट्वेन्टी क्रिकेट: कुवेतमाथि नेपालको जित

फाइल तस्वीर

काठमाडौं ।आइसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ।मलेसियामा भएको खेलमा नेपालले आज कुवेतलाई ३४ रनले पराजित गरेको छ।

नेपाललाई जिताउन इन्दु बर्माको अलराउन्डर प्रदर्शन रह्यो। उनले ब्याटिङमा १९ बलमा २ चौका सहित २३ रन बनाइन् भने बलिङ तर्फ ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन्।

बायोमास क्रिकेट ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो।ओपनर पुजा महतो डकआउट हुँदा अर्की ओपनर बिन्दु रावलले २० रन जोडिन्।

सम्झना खड्का १, अनुभवी ब्याटर सीता रानामगर १२ बलमा ७ रन, कप्तान रुविना क्षेत्रीले ११ बलमा ५ रन बनाउँदै क्याच आउट भए। काजोल श्रेष्ठ १८ बलमा १ चौका सहति १९ रन र खुसी ढंगोल ३ बलमा १ रन बनाउँदै अविजित रहे।

 ९० रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन मात्रै बनाउन सक्यो। 

नेपालका लागि डेब्यु गरेकी स्पिनर खुशी डंगोलले ३ ओभरमा २ मेडनसहित ३ रन खर्चेर २ विकेट लिइन्। ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले एक एक विकेट लिए।

नेपालले सिरिजको पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । चार देश सम्मिलित सिरिजमा नेपाल २ खेलमा २ जितका साथ ४ अंक बटुली शिर्ष स्थानमा रहेको छ। नेपालले अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ।