आज यी प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना
काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव पनि छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल कोशी,मधेश र बामगती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।
त्यस्तै कोशी प्रदेशका केही स्थान तथा मधेश र बागमती प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।
देशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति कोशी, मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति भने गण्डकी प्रदेशको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
साथै कोशी प्रदेश,मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
वर्षाका कारण नदीको जल सतह बढ्ने,गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य,कृषि,दैनिक जनजीवन,सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।