राष्ट्रको आँखामा बाजुरा पर्ने हो भने प्रचुर पर्यटन क्षेत्रको सम्भावना छ!

राष्ट्रको आँखामा बाजुरा पर्ने हो भने प्रचुर पर्यटन क्षेत्रको सम्भावना रहेको छ ।

बाजुराको बडीमालिका र बुढीनन्दा तिर्थस्थलमा श्रावण शुक्ल एकादशी देखि पूर्णिमासम्म धार्मिक मेला शुरु भएकोछ । बाजुरा जिल्ला धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पर्यटकीय दृष्टीकोणबाट प्रचुर सम्भावना बोकेको जिल्ला हो । यहाँ विविध खालका सँस्कृती, रहनसहन, भेषभुषा, कलाकौशल, साहित्य,सृजना, भाषा, शैली र परम्परा छन । धार्मिक रुपमा सहिष्श्रुणता, एकता र सद्भाव कायम छ।

बाजुरा मानवीय सूचकांकमा पुछारमा भएपनि धार्मिक, साँस्कृतिक, ऐतिहासिक,पर्यटकीय, जल, जमिन र जडिबुटीको श्रोत र साधनका हिसावले धनी छ । कस्तुरीको नावीमा बिना हुन्छ तर कस्तुरीले त्यसको बासना र आफ्नो शरीरमा भएको बिनालाई चिन्दैन भनेझै बाजुराले आफुभित्र भएको श्रोत र साधनलाई पहिचान र प्रचार गराउन नसक्दा कागलाई बेल पाक्यो हर्ष न विस्मात झैं सावित भएको छ । बाजुरा जिल्लालाई धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पर्यटकीय दृष्टीकोणबाट प्रचारप्रसार गरेर पहिचान बनाउन यहाँका राजनीतिकदल, जनप्रतिनिधी, नेता, समाजसेवी, बुद्घिजिवी, नागरिक समाज र सचेत नागरिक एक जुट भएर पहलकदमीमा लाग्ने हो भने प्रचुर पर्यटनको सम्भावना छ । राष्ट्रको आँखामा पार्न सक्ने हो भने बाजुरा धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पर्यटकीय दृष्टीकोणले गन्तव्य स्थान बन्नेमा दुइमत छैन । बाजुरा जिल्ला धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुको श्रोत र साधनका दृष्टीकोणबाट प्रचुर सम्भावना बोकेको जिल्लाको रुपमा तपसिलका आधारमा पुट्याई दिन सकिन्छ ।


हरेक बर्ष झै यो बर्ष पनि श्रावण शुक्ल त्रयोदशी देखि पूर्णिमासम्म बडीमालिका र बुढीनन्दा तिर्थस्थलमा मेला लाग्ने गर्दछ । यो बर्ष देखि बडीमालिका र बुढीनन्दामा सरकारी टोली सहित तर्थिालु, दर्शालु र भक्तजन जाने निर्णय बडीमालिका र बुढीनन्दा नगरपालिकाले गरेका छन । बडीमालिका तिर्थमा जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बडीमालिका नगरपालिकाको सरकारी टोली र बुढनिन्दातिर्थस्थलमा जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बुढीनन्दा नगरपालिकाको सरकारी टोली सहित पुजारी श्रावण शुक्ल एकादशीदेखि प्रस्थान गरेको छ । बडीमालिका नगरपालिकाले श्रावण शुक्ल एकादशी १० गतेका दिन सरकारी टोली बडीमालिका पुजाका लागि प्रस्थान गरेको दिन सार्वजनिक विदा दिएको छ भने बुढीनन्दा नगर पालिकाले बुढीनन्दा माईको मन्दिर र तालमा कार्य पालिका बैठक गर्ने निर्णय गरेको छ ।
बडीमालिका क्षेत्र ः वरिपरी अनकन्टार भीर र वीच भागमा एउटा शोभापूर्ण मन्दिर छ । मन्दिरको दाहिने भागमा झण्डै ३५–४० जना अटाउने हवनकुण्ड छ । त्यसको पनि दायाँतिर अलि खुला ठाउँ छ । त्यहाँबाट पूजाको दिन दर्शनार्थीहरु लाम लाग्ने गर्दछन् । मन्दिरको पृष्ठ भागमा अर्को सानो मन्दिर छ । देव्रेतिर थुप्रै शील एवं मठ छन् । अनि अघिल्तिर राजा देखि रङ्कसम्म र सैनिक देखि गैरसैनिकसम्मका श्रद्धालु भक्तजनहरुद्धारा चढाईएका ठूला देखि सानासम्मका घण्टहरु छन् । त्यस वाहेक मन्दिर परिसर भिरालो भू–वनावटबाट सजिएको छ । यद्दपी त्यहाँ दशौं हजार दर्शनार्थीहरु पाल हालेर वास बस्न समर्थ हुन्छन् । यो अबस्थिति बाजुरामा भगवान शीवकी आदीशक्ति शैलपुत्रीकी प्रतिमूर्ति बडिमालिका माताको हो ।
पौराणिक ग्रन्थ श्री स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार हिन्दु धर्मावलम्वीका आराध्य देव शीवकी पत्नि सतीदेवीले आफ्ना बुबा दक्षप्रजापतिबाट शीव प्रति गरिएको अपमान सहन गर्न नसकि यज्ञको बल्दो होमकुण्डमा हाम फालेर देह त्याड गरेकी थिईन । सवीदेवीको मृत शरीर बोकेर एक सय बर्ष आँखा बन्द गरि पृथ्वी परिक्रमा गर्दा सतीदेवीको शव गलेर मासुका चोक्टा र अंग पतन हुने क्रममा दायाँ कुम मालिका क्षेत्रमा खसेको समयदेखि आस्तिकहरुको मेलालाग्ने र पुजापाठ गर्ने गरेको मान्यता रहेको छ । त्यसै गरि बाजुराको जगन्नाथ, वाँधु र वाई गा.वि.स.को विचमा कर्णाली नदी र बड्डी खोलाको दोभानको सिरानमा पर्ने पादुका भन्ने ठाउँमा सतीदेवीको पाउ खसेको हनाले पादुका भन्ने नाम राखिएको पोराणिक कथन रहेको छ । त्यसै कारणले महाशिवरात्रीको दिन यस ठाउँमा ठूलो मेला लाग्ने गर्दछ ।

यो दिन शीवका भक्तजन, श्रद्धालु र व्रतालुहरु महाशिवरात्रीको दिन कर्णाली नदी र बड्डी खोलाको दोभानमा स्नान गरेर पादुका मन्दिरमा पुजा गर्ने परम्परा रहेको छ । स्कन्दपुराणको केदार खण्डमा उल्लेख भए अनुसार शीवकी शक्ति दक्षपुत्री श्री सतीदेवीले आफ्नै पिताबाट पति शीवको निन्दा गरेको सहन नसकि सोही शीव निन्दक लक्षप्रजापतिद्धारा आयोजित यज्ञको हवनकुण्डमा हामफाली प्राण त्याग गरिन् । हुनत अगिलने जलाएर सतीदेवीको देह त्यहि हवनकुण्डमा खरानी हुनुपर्ने थियो तर महादेवको डरले अग्निीले सतीदेवकिो देह दहन गर्न सकेनन् । यद्दपी सतीदेवीले प्राण खैंचेर देहत्याग गरि छाडिन्।

सो खबर महर्षि नारद मार्फत भोले नाथले पाएपछि रिस थाम्न नसकि आफ्नो जटाबाट महावीर वीरभद्र र महाकाली उत्पन्न गराई आफूलाई निन्दा गरि आफ्नै छोरीलाई आत्महत्या गर्न प्रैरित गर्ने दक्षप्रजापतिको यज्ञको विध्वंस गराई दिए । त्यसपछि प्राण प्यारी पत्निको विछोडको पीडा सहन नसकि पागल तुल्य बनी सतीदेवीको शव पिठ्यूमा बोकी पुथ्वीको भ्रमण गर्न थाले । केहि समयपछि शीवजीले बोकेको लाशमा औंसा परि कुहियो । तर पनि भोलेनाथ अचेतन अवस्थामाबाट सचेत अवस्थामा आउन सकेनन् । यसरी शीवजीको पृथ्वी भ्रमणकै क्रममा पिठबाटै सतीदेवीको अंग पतनको क्रम शुरु भयो । सतीदेवीको अंग पतन भएको ठाउँमा शक्ति पीठ स्थापना भए । यसै क्रममा मल्ल गिरीमा शीवजी पुग्दा सतीदेवीको कुनै अंग पतन भयो यसबाट मल्लिका गिरी पिचाशेश्वर महादेवको स्थापना भई शीव शक्ति स्वरुपले रहे।

त्यसै गरि वडिमालिकाको दर्शन गर्न आउने क्रममा पंचकोटी मार्गमा पर्ने अन्य पाँच शक्ति पीठ छतारा माई , खलाटुप्पा माई, चाकुमाई, गहतेदेवीमाई, जुड्डयाल्नीमाईको स्थापना पनि सवीदेवीको अंग पतनबाटै भएको हो । तापनि पुराणमा उल्लेखित १ सय ५० पीठ बाहेकका अंग पतन भएको हुनाले यी पीठको चर्चा पाईदैन । तथापि यी पीडहरुमा दर्शन गरेर यहि मार्गबाट मालिका जाने श्रद्धालु भक्तजनहरुलाई पंचकोटीको दर्शनबाट छुट्टै आनन्दको अनुभूति हुने गर्दछ ।
यस शक्ति पीठमा हरेक बर्षको श्रावण र भाद्र महिनाको विचमा पर्ने जनै पूर्णिमाको शुक्ल त्रयोदशी देखि पूर्णिमाको दिनसम्म तीन दिन मेला लाग्ने र त्यहाँको पूजाका लागि जुम्ला र डोटी जिल्लाबाट सरकारी प्रतिनिधिको टोली त्यसतर्फ दर्शन यात्रा श्रावण कृष्णआमावश्यको दिनबाट थालनी हुन्छ । त्रिवेणीमा श्रद्धालु, भक्तजन र जात्रुहरुले विहानै स्नान गरेर लिङ्गो तान्ने प्रचलन रहेको हुन्छ । लिङ्गो तान्ने क्रममा दुई टोलीमा विभाजन गर्ने गरिन्छ । जुम्लाको टोली र डोटीको टोली विच लिङ्गो तानातान हुन्छ । जुम्लाबाट चन्दनाथ सरकारी टोली र डोटीबाट गोरखनाथ सरकारी टोली एक हप्ता अगाडी बडीमालिकाको पुजापाठका लागि हिड्ने गर्दछ ।

यी दुई टोली विच आलो सल्लाको लिङ्गो तान्ने प्रचलन रहेकोछ । जसले लिङ्गो तान्न सक्छ त्यो बर्ष त्यसै टोलीको नेतृत्वमा बडिमालिकामा लिङ्गो चढाउने प्रचलन रहेको हुन्छ । जुन टोलीले लिङ्गो तान्न सक्यो त्यस क्षेत्रमा शुभ हुने, अन्नबाली समय हुने, मानव जीवनमा राम्रो हुने कथन छ । सरकारी टोलीलाई गोर्खाली टोली भनेर चिनिन्छ । उक्त टोली बाटो पुरै पैदल छिचोल्दछ । यसरी हिड्ने क्रममा चौध पन्ध्र दिनको यात्राको सिलसिलामा पंचकोटी बाट नियमित पूजाअर्चना र राती जाग्रामको कार्य प्रारम्भ हुन्छ । यहाँ मालिका दर्शनका लागि जाने प्राय स्थानिय भक्तजन पनि गोर्खाली टोलीसंग त्याहाँ मिसिन्छन् । त्यहाँको पूजा र जाग्राम भएको भोलीपल्ट अर्को जाग्राम प्राकृतिक सौन्दर्यको काखमा रहेको अर्को मन्दिर खलाटुप्पा माईमा गरिन्छ ।

त्यसै गरि अनकन्टार भीर अनि अपार झारपातसंग अनौठो अनुभूति गर्दै धर्म घरमा पूजा गरि प्रवेश समेत गरेर अगाडी बड्दा दर्शन टोली साँझ चाँकुमाईको थलीमा जाग्राम पूजा अर्चना गर्न पुग्दछन् । बडिमालिकाको पुजा गरेरफकिने क्रममा जौ र तिलले बनेको तिलक टिप्नका लागि ठूलै संघर्ष हुने गर्दछ । जसको “शक्ति उसैको भक्ति” भने झै जसले बढी तिलक खोस्न सक्यो उसैलाई बहादुर मान्ने प्रचलन रहेको छ ।
पुनः विहानको पूजा पश्चात अगाडी बड्दै जाँदा मालिका पछिकी महान मानिने वरिपरि अनकन्टार भीरको चुलीमा अवस्थित अर्को शक्ति गहतेदेवी मन्दिरमा पूजा गरि प्रसाद ग्रहण गरिन्छ तर त्यहाँ जाग्राम गरिदैन । मन्दिर परिसरबाट त्यहि दिन अगाडि बड्ने क्रममा सिधै ओरालो लाग्नुपर्ने बाटो झण्डै हत्केला जत्रो छ ।

समस्या र समाधान :

यहाँबाट कोहि लड्ने हो भने अस्थिपंजरको चिनारी पाउन असम्भव छ । खानेपानी, विश्राम स्थल, यातायात र संचारको समस्या रहेको छ । यो क्षेत्रमा जानआउन धेरै कठिन छ । यो समस्या समाधानका लागि पोरखे हुँदै पाटन र त्रिवेणीबाट बडिमालिका सम्म सडक, मौरेबाट नाटेश्वरी हुदै सडक, रोप वे सेवा, खानेपानी व्यवस्था, संचार व्यवस्था र विश्राम स्थलको उचित व्यवस्थापन गर्न सकेमा यो क्षेत्रको अझै आस्था र महत्व बढ्ने छ ।
मनले चिताएको पु¥याउने आस्थाले बडिमालिका माईको आस्था र महत्व रहेको छ । सुदुरपश्चिमका ९ वटै जिल्ला, कर्णाली अञ्चलका ५ वटै जिल्ला, नेपालका अन्य ठाउँ र भारतको आसाम, टनकपुर, कुमाउ र गडवाल समेतका दर्शालु र भक्तजनहरु पुजाआजा गर्न मेलाको समयमा दर्शन गर्नका लागि आउने गर्दछन् । मनले चिताएको बडिमालिका मार्य पुरा गर्छन भन्ने आस्था बोकेका दर्शालु र भक्तजनहरुले घण्ट, सुन,चाँदी,तामाका देवीदेवता, गाई,घोडा, आदीका मूर्ति, सुन र भेटी चढाउने गर्दछन् । असंख्य रुपमा चलअचल सम्पत्ति जम्मा हुन्छ । तर यसको औपचारिक रुपमा संरक्षण र कोष संकलन समिति छैन । यसमा भएको सम्पूर्ण आम्दानीको श्रोत पुजारीले लिने गर्दछन । खासै यो श्रोतको खोजीनिति अझैसम्म छैन । यसका पुजारी परम्परा देखि बाजुरा जिल्लाको कैलाशमाण्डौं गा.वि.सको पैमाका पाध्यायहरु छन् । भने अर्को हकदार कालीकोटका ब्राह्मण पनि पुजारीका रुपमा रहेका छन् । समुन्द्री सतहदेखि १३ हजार ८ सय ९४ फिटको उचाईमा रहेको बडिमालिका क्षेत्रको प्राकृतिक सुन्दरता, दर्लभ वन्यजन्तुहरुको आकर्षण, सयौं प्रजातिका जडिबुटीहरु, घोडा–भेडाको लस्कर,का साथै बाइस पाटनको मनोरम दृश्य अनि डाँफे, मुनालहरुको नृत्य, त्रिवेणीको खेतिवेति र मनोरम दृश्य र हजारौ प्रजातिका फूलहरुको सौन्दर्यले मन्त्रमुग्ध नहुने सायद कमै होलान् । यो क्षेत्र पौराणिक, पर्यटकीय र ऐतिहासिक रुपमा महत्वपूर्ण मानिन्छ । भने धार्मिक रुपमा श्रद्धालुहरु र भक्तजनहरुका लागि बडिमालिका माई आस्थाको केन्द्र विन्दु मानिन्छ । अपत्यारिलो झैं लाग्ने बडिमालिका क्षेत्र भित्रका खेतिवेति,त्रिवेणी र वाईस पाटनले गर्दा यस क्षेत्रको महत्व बढ्नुका साथै यात्रु र भक्तजनहरुको संख्यामा उल्लेख्य बृद्धि हुने गर्दछ ।
बडिमालिका क्षेत्र धार्मिक, पर्यटकीय, पौराणिक र ऐतिहासिक रुपमा महत्वपूर्ण मानिन्छ । तर यो क्षेत्र राष्ट्रको आँखामा पर्न सकेको छैन । बाजुरालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न सक्ने हो भने बाजुराका जनताको जीवनस्तरमा सुधार, आय–आर्जनमा बृद्धि हुनुका साथै समग्र जिल्लाको मुहार फेरिन सक्ने सम्भावना रहेको छ।

बुढीनन्दा क्षेत्रको परिचय:

बुढीनन्दा क्षेत्र धार्मिक , पर्यटकीय, पौराण्ीक र ऐतिहासिक रुपमा महत्वपूर्ण मानिन्छ । यो क्षेत्र समुन्द्री सतह देखि करिव १६ हजार फिट उचाईमा रहेको छ । देशकै दोस्रो अग्लो करिब १६ हजार फिटमा बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकामा रहेकोे बुढिनन्दा ताल सुन्दर सम्पदा हो । बुढीनन्दा देवी मन्दिरसँगै चट्टान नै चट्टानको बीचमा ठूलो ताल छ । यस वरिपरि अरु ९ वटा ताल पनि छन् । मुख्य तालको उचाई समुन्द्री सतहबाट ४५८१ मिटर रहेको छ भने बुढीनन्दाका क्षेत्र प्राकृतिक सुन्दरताको अनुपम उहाहरण हो । मुख्य तालको वरिपरी परिक्रमा गर्न झण्डै डेढ घण्टा लाग्दछ । यो ताल ठूला पहाडको बीचमा गोलो आकारमा रहेको छ । यस क्षेत्रमा बुढीनन्दा ताल ठूलो छ । अन्य तालहरुमा सुनन्दा ताल, चरीताल, कैलाश ताल, राक्षेशीताल, फूलदह र मष्टाताल लगायतका नौवटा ताल छन् ।
धार्मिक तथा सांस्कृतिक महत्व
बुढिनन्दा धार्किक तिर्थ स्थल हो । रामको मालिका बरको बुढीनन्दा भन्ने उखान प्रचलनमा छ । बुढीनन्दा माइको दर्शनसंगै बुढीनन्दा ताल पुगेर मनले चिताएको मागेमा पुरा हुने जनविश्वास रहेको छ । श्रावण शुक्ल त्रयोदशीदेखि जनैपूर्णिसम्म बुढीनन्दामा भब्य मेला लाग्दछ । बझाङ्ग, बाजुरा, हुम्ला, जुम्ला लगायत भारतको कुमाउ गडवालबाट समेत दर्शनार्थी आउने गर्छन । यो बर्ष देखि बुढीनन्दामा जिल्ला प्रशासन कार्यालय सहित बुढनिन्दा नगरपालिकाको सरकारी टोली, पुजारी र दर्शालु भक्तजनहरु श्रावण शुक्ल एकादशीका दिनदेखि बुढीनन्दा दर्शनका लागि हिडेको छ।
ऐतिहासिक तथा पौराणिक मान्यताहरु
ताल तथा मन्दिर रहेको स्थान नजिकै करिब आधा दिनको क्षेत्रमा खाली खुट्टाले हिड्नुपर्ने स्थानीय बासिन्दाहरु बताउँछन्। यस बीचमा चट्टा नै चट्टानमा हिड्नुपर्ने धार्मिक परम्परा छ । हरेक वर्ष जनैपूर्णिमाको दिन खाली खुट्टा हिँडेर बुढीनन्दाको दर्शन गर्न जाने गर्दछन् । यस क्षेत्रका बासिन्दामा बुढीनन्दा माईको पूजा तथा आराधनाले चिताएको कुरा पूरा हुने र बुढीनन्दा तालमा स्नान गर्दा सबै पाप पखालिने जनविश्वास छ
प्राकृतिक सौन्दर्य
बुढीनन्दा अवलोकनका लागि जाने सर्वोत्तम अवधि साउन भदौ महिना हो । बुढीनन्दाका क्षेत्र प्राकृतिक सुन्दरताको अनुपम उहाहरण हो । बुढीनन्दा पुग्दा मन चङ्गा हुन्छ । प्रकृतिप्रेमी हरेकले एकपटक बुढीनन्दा पुग्नैपर्ने ठाउँ हो । त्यहा पुग्ने बाटोमा ठूल्ठूला झरनाहरु अनि पाटनहरुमा कैयौ प्रजातीका रङ्गीचङ्गी फुलहरुले संसारकै सुन्दर बगैचाहरुको झझल्को दिने गर्दछ । सुन्दरताको खानी बुढीनन्दा पुग्दा मन चङ्गा हुन्छ, घोडा भेडाका लस्कर र गाईभैंसीका गोठ देखिन्छ ।
जैविक विविधता
ताल रहेको ठाउँ जाने बाटोमा ठूल्ठूला झरना, कैयौं प्रजातिका रङ्गीचङ्गी फूलहरुले संसारकै सुन्दर बगैंचाहरुको झझल्को दिन्छ । खप्तड राष्ट्रिय निकुन्ज हुँदै रारा जाने पर्यटकका लागि बीचबाटोमा पर्ने क्षेत्र भएकाले पनि यसको महत्व बढेको छ । बाटोमा हिँड्दा मृगका बथान, यार्सागुम्बा, कटुकी, हत्ताजरी, बाह्रजरी र जटामसी लगायतका सयौं जडिबुटी भेटिन्छन्
पर्यटन प्रर्वद्धन
धार्मिक आस्था र अपार प्राकृतिक छटाहरुको सुन्दरताले भरिएको यो तालबारे देशका अन्य स्थानबाट समेत चासो व्यक्त हुन थालेको छ । बाटोमा गोठालाहरुले पर्यटक तथा दर्शनार्थीहरुको भब्य स्वागत सत्कार गर्छन् ।
पर्यटकीय सम्भावना
चञ्चल बादल, मनोहर फूल र हरियाली त्रिवेणी जस्तो लाग्ने यो अद्धितिय भूगोल विश्व स्तरीय पर्यटकको गन्तव्य बन्ने हैसियत राख्दछ । धार्मिक आस्था र अपार प्राकृतिक छटाहरुको सुन्दरताले महत्वपूर्ण बुढीनन्दा क्षेत्रमा रहेको ताल विश्वमै दोस्रो उचाईमा रहेको तथ्य सार्वजनिक भएपछि यसबारे चासो बढ्न थालेको छ ।जिल्लालाई आर्थिक रूपमा माथि उकासी राम्रो आम्दानी दिन पर्यटन विकास र स्थानीय स्रोतको प्रयोग जरुरी भएपनि बाजुरामा भने पर्यटन विकासका लागि कुनै कार्यक्रम नहुँदा जिल्लावासी निराश भएका छन् ।
आकर्षणहरू लौरी बिनायक, खेतीबेती, बर माग्ने डाँडो, गाई गोठ, धौलीगाड, धनभण्डार, छाप्रे पाटन लगायतका मनमोहक ठाउँ बुढीनन्दामा छन् ।
समस्याहरु
तालको लम्बाई, चौडाई तथा गहिराईबारे आधिकारिक तथा विस्तृत अध्ययन भने सरकारी निकायबाट भएको छैन । सुदुरपश्चिमकै चर्चित ताल बुढीनन्दा पनि सरकारी निकायको बेवास्ताले यो तालको पहिचान नै संकटमा परेको छ । यो क्षेत्र आफैंमा मनमोहक र धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएपनि राज्यबाट भने संरक्षणका लागि कुनै पहल नभएको देखिन्छ ।
बुढीनन्दा तालको संरक्षणमा सम्बन्धित निकायको ध्यान नपुगेकाले अस्तित्व सङ्कटमा परेको स्थानीयवासीको भनाइ छ । संरक्षण अभावमा तालमा जङ्गली झारपात र बुट्यानले ढाक्दै गएको पाइएको छ । जिल्लाका यी ताल अहिले वन्यजन्तुका लागि पानी पिउने र चराचुरुङ्गीको बासस्थानको रुपमा प्रयोग भएको पाइएका छन् । बुढीनन्दा तालले प्राकृतिक स्वरूप गुमाउँदै गएपछि चराचुरुङ्गीको बासस्थान पनि सङ्कटमा परेको छ।
कसरी पुग्ने
बुढीनन्दा नगरपालिकामा पर्ने यो क्षेत्रमा पुग्न सदरमुकाम मार्तडीदेखि चारदिन पैदल हिँड्नुपर्छ । ताल तथा मन्दिर रहेको ठाउँमा पुग्न झण्डै आधादिन खाली खुट्टाले हिँड्नुपर्छ । बाटोमा दुईदिन बास बास्नुपर्छ, त्यो पनि प्राकृतिक गुफाहरुमा । चट्टानमा हिँड्नुपर्ने धार्मिक परम्परा छ । बुढीनन्दा पुग्न नेपालगञ्ज हुँदै कोल्टीको हवाई यात्रा सहज छ । कोल्टीदेखि अढाई दिनमा पुगिन्छ ।
स्थानीयहरुका खर्क, धर्मशाला र केही ठाउँमा प्राकृतिक ओडारहरुमा बास बस्दै यहाँसम्म पुग्न सकिन्छ। बाजुराको कोल्टीबाट ४ देखि ५ दिनमा बुढीनन्दा पुगेर फर्किन सकिन्छ।

खप्तड क्षेत्रको परिचय: सुदूर पश्चिम क्षेत्रको मध्य पहाडी क्षेत्रमा २२५ बर्ग कि.मि.मा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज सन् १९८४ मा स्थापना भएको हो । यो सेती अञ्चलको बाजुरा, बझाङ्ग, अछाम र डोटी जिल्लाको केही भाग मिलेर खप्तड राष्ट्रिय निकुञ्ज बनेकोछ । खास गरि मानचित्र र भौगोलिक क्षेत्रको हिसावले यो क्षेत्र बाजुरामा पर्दछ । यस निकुञ्जका सुरक्षाकर्मी र कर्मचारीहरु रासन र भत्ता बाजुराबाटै खाने गर्दछन्।
नेपालमा पाईने ८५० किसिमका चराचुरुङ्गि मध्ये २६० थरिका चराचुरुङ्गिहरु, २२ वटा खुला जमिनका पाखाहरु, विभिन्न थरिका वन्यजन्तु, रुखविरुवाहरु, विभिन्न प्रजातिका फूलहरु,जडिबुटी र विभिन्न किसिमका पुतलीहरु खप्तड राष्ट्रिय निकुञ्ज भित्र पाईन्छन्।
यो क्षेत्र उच्च धार्मिक महत्व भएको महत्वपूर्ण ठाउँ हो। यो क्षेत्रको धार्मिक र साँस्कृतिक महत्वलाई ६५ बर्ष अघि खप्तड स्वामी (१००८ स्वामी सच्चिदानन्द सरस्वती) यस स्थानमा आई बसेकाले अझ धार्मिक र ऐतिहासिक महत्वले प्रोत्साहन पाएकोछ । स्वामी खप्तड बाबाका नामले जानिन्छ ।
त्यसैले बडिमालिका, बुढिनन्दा र खप्तड राष्ट्रिय निकुञ्जलाई धार्मिक, ऐतिहासिक, पर्यटकीय जिउँदो संग्रहालय र बनस्पति र जडिबुटीको जिउँदो बगैचाको रुपमा प्रसिद्ध मान्न सकिन्छ ।
बाजुरामा पर्यटन क्षेत्रको सम्भावना यस प्रकार छ :
(१) पर्यटन क्षेत्र : बडिमालिका, बुढीनन्दा, छेडेदह, जेठीबहुरानी(शैपाल) हिमाल, खप्तड राष्ट्रिय निकुञ्ज, त्रिवेणी पाटन, रानीसैन, पोरखे लेक, छेडेदह ताल, झरना, कर्णाली नदी र खोला आदि ।
(२) महत्वपूर्ण धार्मिक स्थल र मन्दिरहरु : बडिमालिका, बुढीनन्दा, साइगोसाई माणु, शाहीमाण्डौं, पादुका त्रिवेणी धाम, नाटेश्वरी, जगन्नाथ ठाकुर ज्यू, तलगिोठी कैलाश र चन्द्रनाथ आदि ।
(३) बाजुरामा पाईने स्थानीय जडिबुटी : यार्सागुम्बा, कटकी, पाँचऔंले, तितो, चिराईतो, च्याउ, सिलाजित, रुगासाग, जटामसि आदि ।
(४) हस्तकला : बोल्दो, भांग्रो, राडी, पाखी, ल्यू, फेरुवा, नेपाली कागज, डोको र निकालो आदि।
(५) जङ्गली जनावरहरु : कस्तुरी, बाघ, भालु, ब्वाँसो, थारल, मृग, घोरल र वँदेल आदि ।
(६) चराचुरुङ्गीहरु : नौरङ्गी डाँफे, कालिज, च्याखुरा, हुचिल बाज आदि ।
(७) मनोरम दृश्यहरु : बडिमालिका क्षेत्र, त्रिवेणी, बाईस पाटन र खेतिवेति, भिरको पर्ने बुढीनन्दा क्षेत्र, खप्पतड क्षेत्र, रानीसैन, पोरखे लेक, कुण्डा खोला, छेडेदह तथा अन्य झरनाहरु ।
(८) नदी÷खोला :कणाली, कवाडी, बुढीगंगा, बार्जुगाड, बड्डीखोला, जुड्डीगाड, भौनेरा आदी
निष्कर्ष :
बाजुरा जिल्लाभित्र भएका ऐतिहासिक, धार्मिक,पर्यटकीय र पौराणिक क्षेत्र बडिमालिका,बुढीनन्दा, खप्तडलाई पर्यटन क्षेत्रको रुपमा राष्ट्रको आँखामा पार्न सकेमा समग्र बाजुराको प्रचुर पर्यटन प्रबद्र्घन हुने सम्भावना छ । बुढीनन्दा, खप्तड, रानीसैन, छेडेदह, पादुका त्रिवेणी धाम, जगन्नाथ ठाकुर ज्यु, गोसाई कुण्ड। शाहीमाण्डौ, नाटेश्वरी लगायतका पौराणिक, ऐतिहासिक र धार्मिक क्षेत्रको विकास र विस्तार भई बाजुराबासीको जीवनस्तरमा सुधार, आयआर्जनमा बृद्धि र मानवीय सूचकांकमा विकास हुने देखिन्छ । यस प्रति राज्य, राजनीतिक दल र सरोकारवाला निकाय मौन नभई समयमै यो क्षेत्रको विकास गर्नमा पहलकदमी गर्नु जरुरी छ । अझै समय गई सकेको छैन । राज्य, जनप्रतिनिधी, राजनीतिक दल, संघ÷संस्था, नागरिक समाज, बुद्धिजिवी, चिन्तक र समाजसेवीले बाजुरा जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न, जिल्लाकै गौरव बढाउन र मानव विकास सूचकांकमा बाजुरालाई अगाडि बढाउन राष्ट्रको नीति निर्माता देखि योजनाकारसम्म, जिल्ला देखि केन्द्रीयस्तरसम्मका सरोकारवाला निकायको ध्यान केन्द्रीत गर्न चुक्नु हुदैन । सबैपक्षको साझा प्रयास र प्रतिवद्धताले मात्र बाजुराको विकास सम्भव छ ।

सर्पलाल गिरी – लेखक: नेपाल पत्रकार महासंघ बाजुरा शाखाको केन्द्रीय परिषद सदस्य, सामुदायिक रेडियो शिम्भुनाथ १०४.९ मेगाहर्ज कोल्टी बाजुराका अध्यक्ष संचारकर्मि एवं बालअधिकारकर्मि हुनुहुन्छ ।