आज जनैपूर्णीमा र रक्षाबन्धन पर्व मनाइँदै

काठमाडौं। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णीमा र रक्षाबन्धन पर्व आज देशभर मनाइँदै छ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्।

तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र)धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।

जनैपूर्णिमाको दिन क्वाँटी खाने प्रचलन छ।

विभिन्न किसिमकका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटीले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ।

क्वाँटीको रसले खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्छ।

पहाडी क्षेत्रमा आजै दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर राखी मनाइन्छ। यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम बढ्ने मान्यता छ।

आजको दिन उत्तरपूर्वी भेगमा रहेको मणिचूँड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्छ।