म्याग्दी सरुवा भएका इन्स्पेक्टर असुली धन्दामा व्यस्त
काठमाडौं। प्रहरी प्रधान कार्यालयले म्याग्दी सरुवा गरेर पनि मधेस प्रदेशको प्रशासनमा अखडा जमाएर बसेका इन्स्पेक्टर अशोक झालाई कहाँबाट कसले आशिर्वाद प्रदान गरेको छ भन्ने विषयमा त्यहाँका प्रहरी कर्मचारी बीच चर्चा परिचर्चा हुन थालेको छ।
आन्तरिक सरुवा मार्दै आएका झा म्याग्दी नगएर त्यही बस्ने प्रयत्नमा शक्ति केन्द्रलाई खुसी पार्न सबै औजार प्रयोग गर्ने गरेका छन्।
आन्तरिक सरुवामा व्यापक पैसा उठाउने भनेर नाम चलेका इन्स्पेक्टर झा ले पछिल्लो पटक सिमा प्रहरी चौकी सगरामपुरमा वरिष्ठ सईलाई तानेर अत्यन्तै विवादीत असई मनोज यादवलाई पठाएका छन्। राम्रो रकम लिएर साधारण तालिम समेत नगरेका मनोज यादवलाई पठाइएको समाचार स्रोतको दावी छ।
यादव प्रहरी हवल्दारमा हुँदा बालाजुबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख नगद रकम सहित रंगेहात पक्राउ गरेको थियो।
पटक पटक घुमुवा बसेर अत्यधिक विवादमा रहेका मनोजलाई रवि लामिछाने गृहमन्त्री हुँदा उनको विषयमा थुप्रै उजुरी परेपछि लामिछानेले तुरुन्त हटाउन निर्देशन दिएपछि गणमा धपाइएको थियो। गृहमन्त्रीबाट लामिछाने गए लगत्तै पैसाको भरमा यादव सर्लाही आएको बताइन्छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी नरेशराज सुवेदीको घुमुवा प्रहरी हवल्दार अजोहया यादवको डिजाइनमा वरिष्ठ सईलाई तानेर असई यादवलाई इन्चार्ज बनाइएको स्राेतले दाबी गरेकाे छ।