सुदूरपश्चिमका मुख्यमन्त्री शाह प्रमुख अतिथि रहेको कार्यक्रममा मञ्च ढलेपछि भागाभाग
काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री प्रमुख अतिथि रहेको कार्यक्रममा मञ्च ढलेपछि अतिथिहरूको भागाभाग भएको छ।
बुधबार मुख्यमन्त्री कमलबहादुर शाह डडेल्धुरा बहुमुखी क्याम्पसको २८ औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि भएर गएका थिए।
कार्यक्रम चलिरहेका बेला मञ्च अचानक ढलेको थियाे।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेका अनुसार मञ्च एक फिटजति अग्लो बनाइएको थियो। त्यो ‘डिस्लोकेट भएर पाल झरेको’ उनले बताए।
मञ्चमा मुख्यमन्त्री शाहसँगै माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सदस्य सरस्वती खड्का, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने लगायतका थिए।
मञ्च ढलेपछि केहीबेर रोकिएको कार्यक्रम फेरि सुरू भएको थियो। कसैलाई चोटपटक लाग्ने गरी घटना नभएको प्रमुख जिलला अधिकारी न्यौपानेले बताए। उनले सोही मञ्चमा कार्यक्रम सम्पन्न भएर मुख्यमन्त्री शाह धनगढी हिँडिसकेको बताए।