साफ यू-१६ च्याम्पियनसिपबाट लगातार दुई खेल हार्दै बाहिरियो नेपाल

काठमाडौं । भुटानमा जारी साफ यू-१६ च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको छ। जित्नैपर्ने खेलमा पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

साविक उपविजेता समेत रहेको नेपाल लगातार दुई खेलमा हार बेहोर्दै समूह चरणबाटै बाहिरिएको हो। यसअघि पहिलो खेलमा पनि नेपाल बंगलादेशसँग १-० ले नै पराजित भएको थियो।

चाङलिमिथाङ स्टेडियममा बुधबार भएको खेलमा भारतका लागि मोहम्मद अर्सादले ३३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि नेपालले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। भारतले पहिलो हाफमा लिएको अग्रता जोगाउँदै खेल जितेको हो।

दोस्रो हाफमा भारतले नेपालमाथि लगातार दबाब बनाएको थियो। भारतको दुई प्रहार बारमा लागेर फर्केको थियो। ६ मिनेटको इन्जुरी टाइममा नेपालले पनि गोल फर्काउने राम्रो अवसर पाएको थियो तर सदुपयोग गर्न सकेन। दुई खेलमा दुई गोल बेहोरेको नेपालले एक गोल पनि गर्न सकेन।

लगातार दुई खेल जित्दै भारत ससमूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ। भारतसँग नेपाल पराजित भएपछि एक जित र एक हारको नतिजा निकालेको बंगलादेश समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको छ।

समूह बी बाट पाकिस्तान यसअघि नै लगातार दुई खेल जित्दै सेमिफाइनल पुगिसकेको छ। अब भुटान र माल्दिभ्सबीच हुने खेलबाट सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो लाग्नेछ।