सुन प्रकरणमा भरियालाई बल्छी,मालिकको छैन पत्तो
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा अधिकांश व्यक्तिहरू भरिया र व्यवस्थापन गर्नेहरू मात्रै प्रहरीको फन्दामा परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शनिबार विमानस्थल भन्सारका तीन जना कर्मचारीलाई पक्राउ गरेसँगै सो काण्डमा पक्राउ पर्नेहरूको संख्या ३० पुगे पनि लगानीकर्ता फेला पार्न सकेको छैन।
सोही प्रकरणमा शनिबार विमानस्थल भन्सारका अधिकृत पुष्पा जोशी र नायब सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपाली पक्राउ परेका हुन्।
सरकारको नेतृत्वकर्ता नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कै शीर्ष नेताहरूको नाम जोडिएको यो घटनामा ओसारपसार र व्यवस्थापनको काम गर्दै आएकाहरूलाई पक्राउ गरे पनि यसका मालिकको पत्ता लाग्न किन सकेन भन्ने प्रश्न उठेको छ ।
गत साउन २ मा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ गरिएका दावा छिरिङ ‘व्यवस्थापक’को भूमिकामा रहेको सीआईबीले निष्कर्ष निकालेको छ ।
सीआईबीका अनुसार हङकङबाट चिनियाँ तस्करले ल्याउने सुन काठमाडौं उपत्यकामा व्यवस्थापन गर्ने काममा दावाको संलग्नता रहेको छ।
माओवादी केन्द्रका नेताहरू र तीनका छोराहरूको नाम जोडिएको उक्त प्रकरणमा कसको लगानी थियो भन्ने अझै पुष्टि भइनसकेको सीआईबीका अधिकारीहरू बताउँछन्। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ।