सुन तस्करीमा मुछिए तरुण दलका नेता लामा

काठमाडौं। प्रहरीले बरामद गरेको करिब एक किलो सुन प्रकरणमा तरुण दलका कांग्रेसको युवा संगठन नेता विकास लामाको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

मलद्वारमा लुकाएर दुबईबाट हिमालयन एयरलाइन्समार्फत मंगलबार सुनसहित प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका–३ का बाबुलाल दोङलाई पक्राउ गरेको थियो। सोही सुन तस्करी प्रकरणमा लामाको नाम जोडिएको हो।

सुनका भरिया दोङलाई पच्छ्याउँदै जाँदा सुन लिन आउने काभ्रेको रोशी गाउँपालिका–३, घट्टेखोलाका जगत लामा र महाभारत गाउँपालिका–३, सानोपोखरा घर भई बनेपा बस्दै आएका दोर्जे स्याङ्तान पक्राउ परेका थिए।

उनीहरुको बयानबाट काभ्रेका विकास लामाको संलग्नता पनि खुलेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोद ढुंगेलले बताए।

उनी ज्यान मार्ने उद्योगमा ३ वर्ष जेल बसेर भीमफेदी कारागारबाट छुटेका थिए। उनी मोटसाइकल चोरीको अभियोगमा पनि पक्राउ परेका थिए।