देशभरका शिवालयमा भक्तजनको घुइँचो,पशुपतिनाथ मन्दिरका चारैवटै ढोका खुला

काठमाडौं। हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ।

तिज पर्वमा पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि बिहान ३ बजे नै मन्दिरका चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशंकर पराजुलीले जानकारी दिए।

पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा लाइनको व्यवस्था गरिएको छ । पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषले ६ बजे अगाडि नै दर्शन गराइएको थियो। बिहान ६ बजेपछि भने महिला बर्तालुलाई मात्र पशुपतिनाथ मूल मन्दिरमा प्रवेश दिइएको कोषले जनाएको छ।

पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायका समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ। बिहानको समयमा भक्तजन लाइनमा बसेको आधा घण्टामा दर्शन गरेर फर्किएका छन्। पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क पानी वितरण, खोजतलास केन्द्रलगायत सेवाको पनि व्यवस्था गरिएको छ।

आज काठमाडौं उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ। रासस