नेपाली महिला फुटबल एसियाड खेल्न टोली चीनतर्फ प्रस्थान

काठमाडौं। १९औं एसियाड अर्थात् एसियाली खेलकुदमा सहभागी हुने २२ सदस्यीय नेपाली महिला फुटबल टोली चीनतर्फ प्रस्थान गरेको छ।

चीनको हाङझावमा हुने एसियाली खेलकुदको १९औ संस्करणमा नेपाली महिला टोलीले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। नेपाली टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन्।  

नेपाल रहेको समूह ‘डी’मा साफ च्याम्पियनसिप विजेता बंगलादेश सहित जापान र भिएतनाम रहेका छन्। नेपालले समुहको पहिलो खेलमा भियतनाम विरुद्ध सेप्टेम्बरमा २२ का दिन खेल्नेछ। त्यसपछि जापान सेप्टेम्बेर २५ मा नेपालको प्रतिद्वन्द्वी हुँदा सेप्टेम्बेर २८ मा नेपालले बंगलादेशसँग खेल्ने छ।

नेपालले भियतनाम र बंगलादेश विरुद्ध हालै मात्र खेलेको थियो। नेपालले जुलाईमा बंगलादेशलाई दुई खेलको मैत्रीपूर्ण सिरिजमा पराजित गरेको थियो भने पेरिस ओलम्पिक महिला फुटबल छनोटका दुई घरेलु खेलमा भियतनामसँग पराजित भएको थियो।

हाङझाव एसियाडमा नेपालका तर्फबाट एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडीले चुनौती प्रस्तुत गर्नेछन्। एसियाली खेलकुदको सहभागितामा नेपालले अहिले सम्म २ रजत र २४ कास्य पदक जितेको छ। नेपाल सरकारले यसअघिनै चिन जाने सम्पूर्ण नेपाली खेलाडीहरूलाई विदाई गरिसकेको छ।

नेपाली टोली 

गोलरक्षक: एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डरः अमृता जैशी,गीता राना,हिरा कुमारी भुजेल,पुजा राना,विमला विक,निशा ठोकर,समिक्षा घिमिरे

मिडफिल्डरः रेनुका नगरकोटे (कप्तान), सरु लिम्बु, विमला चौधरी,अनिता बस्नेत,प्प्रिति राई,दिपा शाही 

फरवार्डः सावित्रा भण्डारी,अनिता केसी,सबिता राना मगर,रश्मी कुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल