राष्ट्रपतिद्वारा ६७० जनाको कैद सजाय मिनाहा

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६७० जना कैदीको कैद सजाय माफी मिनाहा दिएका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार विभिन्न ऐन, नियमअनुसार बुधबारदेखि लागू हुनेगरी ६७० जनाको माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जनाएकी छन्।

मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, कारागार नियमावली, २०२० को साविकको नियम १ र १ क. लाई कायमै गर्ने गरेको सर्वोच्च अदालतको रिट नम्बर ०७६–WH–०९३९ र रिट नम्बर ०७९–WH– ०१४७ को फैसला तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ समेतका आधारमा संलग्न सूचीबमोजिमका उल्लिखित भीमबहादुर खवाससमेत ४९७, हर्कबहादुर लिम्बुसमेत १७० र ज्येष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँसमेत ३ जना गरी जम्मा ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी सजाय माफी गर्ने मन्त्रिपरिषद्को २०८०/०५/२९ को बैठकको सिफारिसबमोजिम २०८०/०६.०३ गतेदेखि लागू हुने गरी संविधान दिवस, २०८० को अवसरमा माफी मिनाहा भएको छ।

प्रत्येक वर्ष संविधान दिवशका अवसरमा राष्ट्रपतिद्वारा कैदीबन्दीको सजाय मिनाह गरिँदै आएको छ।