कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर-प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेशको एकदुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।
यस्तै, बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार बुधबार राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, मधेश,गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।