चाडबाडमा नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउँ: सभामुख घिमिरे

काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा मौलिकता हस्तान्तरण गर्न नयाँपुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी रहेको धारणा व्यक्त गरेका छन्।

इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उनले मौलिक चाडबाडको संरक्षण र संवर्द्धन गर्ने दायित्व नयाँ पुस्ताको हो भनेका छन्।

“नेपाल विभिन्न जाति, भाषा र संस्कृतिमा धनी छ, हरेक जातजातिका आफ्नै विशेषता बोकेका फरकफरक चाडपर्व छन्, हिमाल, पहाड र तराई मिलेर बनेकाले ठाउँअनुसार फरक संस्कार र संस्कृति हुन्छन, सनातनदेखि आस्थाको धरोहरका रूपमा रहेको हाम्रा चाडपर्व र त्यस चाडपर्वमा देखिने विविधताभित्रको एकता नेपालीपनको छुट्टै विशेषतायुक्त संस्कृति र संस्कार हुन्”, उनले भनेका छन् ।

उनले काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा मनाइने इन्द्रजात्राजस्ता पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्ने विश्वास लिएका छन्।

वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी परम्परागतरूपमा नेवार समुदायले मनाउने जात्रा हो। सनातन धर्मावलम्बीका प्रमुख र प्रचलित चाडभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविद्ले पुरानो चाड मान्ने गरेका छन्। सहकालका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई प्रतिविम्बित गरेको छ।

उनले कृषि सभ्यताको सूचकका रूपमा रहेको इन्द्रजात्रा पर्वले प्रकृतिको संरक्षण, पर्यटकीय तथा आर्थिक विकास र समृद्धिमा समेत टेवा पुगोस् भन्ने कामना व्यक्त गरेका छन्।