मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न गरेको छैन: अध्यक्ष नेपाल
काठमाडौं। सत्ता साझेदार दल नेकपा९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले सरकारले मुल्यवृद्धि नियन्त्रण गर्ने प्रयत्न नगरेको बताउनुभएको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न नगरेको बताउनुभएको हो। उहाँले दैनिक उपभोग्य वस्तुहरुको अन्धाधुन्ध रुपमा मूल्यवृद्धि भइरहेको बताउनुभयो।
मूल्यवृद्धि हुनुपर्ने कुनै औचित्य नहुँदापनि मूल्यवृद्धि भइरहेको भन्दै उहाँले यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।
उहाँले मूल्यवृद्धि नियन्त्रणको सम्बन्धमा एकीकृत समाजवादीले संसद चल्दा संसदमा आवाज उठाइरहेको र संसद नहुँदा पनि विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइरहेको बताउनुभयो।
अध्यक्ष नेपालले माईतीघर मण्डलामा आन्दोलनरत शिक्षकहरुको न्यायोचित र जायज मागहरु पूरा गर्नुपर्ने बताउनुभयो। उहाँले आवश्यक कुराहरु विधेयक संशोधन गरेर वा नीतिमा मिलाएर शिक्षकहरुलाई न्याय प्रदान गर्नुपर्ने बताउनुभयो।
अध्यक्ष नेपालले पार्टीको समाजवादी जागरण अभियान अन्तर्गत पार्टी संगठनलाई परिचालित र संगठित गर्दै जनताको कुरा सुन्ने बताउनुभयो।