‘हुम्ला हुँदै पर्यटकलाई मानसरोवर भ्रमण गराउन चीनसँग सैद्धान्तिक सहमति’
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हुम्लाबाट हिन्दु धर्मालम्बीहरुको पवित्र तिर्थस्थल कैलाश पर्वत र मानसरोवरमा सजिलोसँग भ्रमण गर्न सक्ने व्यवस्था गर्ने बताएका छन्।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार कैलाश पर्वत र मानसरोवर ताल क्षेत्रको भ्रमण गरेका थिए। त्यसपछि उनले नेपाली, भारतीय र अन्य देशका पर्यटकले समेत हुम्ला हुँदै कैलाश पर्वत र मानसरोवरसम्म भ्रमण गराउनका लागि चीन सरकारसँग सैद्धान्तिक सहमति भएको बताएका हुन्।
सिमकोटबाट कैलाश पर्वततर्फ ओहोर–दोहोर गर्न गुणस्तरीय बाटो निर्माणको काम छिट्टै अघि बढ्ने प्रधानमन्त्रीको भनाइ छ। चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोवर करिब २ सय ५० किलोमिटर टाढा पर्छ।
नेपालको हुम्लाबाट यात्रा गर्दा हुम्ला सदरमुकाम सिमकोटबाट १ सय ६० किलोमिटर र नेपाल–चीन सीमानाबाट ७० किलोमिटर मात्र टाढा रहेको छ।
सिमकोटबाट कैलाश मानसरोवर जान अहिले सडक संजाल जोडिएको भएपनि यात्रा गर्न सहज छैन। प्रधानमन्त्री प्रचण्डले सो सडकको गुणस्तर बृद्धि गर्ने काम छिट्टै अघि बढाइने पनि बताए।