सशस्त्र प्रहरीद्वारा १२० किलो गाँजासहित ६ जना पक्राउ

काठमाडौं। सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्रबाट १२० किलोग्राम गाँजा बरामद गरेको छ। गाँजासहित ६ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

बराहक्षेत्र नगरपालिका १ चतरा पुलबाट बराह मन्दिर जाने सडक खण्डबाट प्रहरीले उक्त परिमाणको लागुऔषध १२० किलोग्राम गाँजा बरामद गरेको हो। उक्त कार्यमा संलग्न ४ जना र संलग्नताको आशंकामा थप २ जना पक्राउ गरेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी उपरीक्षक विक्रम होमागाईको कमाण्डमा खटेको टोलीले उक्त गाँजा बरामद गरेको हो। भारतीय नम्बर प्लेट बिआर ०२ आर ९९९४ को सुमोको सिटमुनि लुकाएको अवस्थामा गाँजा फेला परेको हो । उक्त गाँजा भारत लैजाने तयारी रहेको बुझिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा भारत, अररिया बथनाहाका महमद सिराज (सवारी चालक), अररिया फेनाका अस्ताजु आलम र नशिम आलम तथा नेपाली नागरिक सुनसरी देवानगञ्ज ५ का शिवम कुमार शाह रहेका छन्।

यस्तै ओसारपसारमा संलग्न भएको आशंकामा भारत अररियाकै ओम प्रकाश रजक र सुनसरी देवानगंजका ओम प्रकाश शाह पनि पक्राउ परेका हुन्।

प्रहरीले निजहरुबाट लागुऔषध गाँजा बोकेको गाडीको स्कटिङमा प्रयोग भएको प्रदेश १–०२–०५० प ६३०४ नम्बरको रातो रंगको पल्सर मोटरसाईकल, नेपाली रुपैयाँ ८ हजार ५६० र भारतीय १ हजार ७४० रुपैयाँ, ६ थान मोवाइलसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजितले बताएका छन्।