द्रुत बस सेवा: गुड्नेभन्दा कुर्ने समय बढी
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ का रामबहादुर थापा सम्भव भएसम्म दु्रत बसै चढ्छन् । असोज ४ गतेदेखि नै उनले केही समय कुरेरै भए पनि द्रुत बसबाटै यात्रा गर्दै आएका छन्।
अरू बस चढ्दा सडक जाममा परिने र समयमै कार्यालयमा पुग्न नसकिने भएकाले आफू सम्भव भएसम्म द्रुत बसबाटै यात्रा गर्ने गरेको उनले बताए।
सरकारले असोज ३ गतेदेखि भक्तपुरको सूर्यविनायकबाट काठमाडौँको रत्नपार्कसम्म २५ वटा द्रुत बसमा सेवा सञ्चालन गर्दै आएको छ।
द्रुत बसबाट यात्रा गर्दा १० देखि १५ मिनेट चाँडो हुने अनुभव उनको छ । द्रुत बस माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटीलगायत चोकमा जाममा पनि ‘डेडिकेटेड लेन’ बाट बस गुड्ने भएकाले खासै रोकिँदैनन्।
उनले भने, “कार्यालय समयमा सबै बसलाई द्रुत बसकै रूपमा चलाउने अनुमति सरकारले दिने हो भने द्रुत बसै भनेर यात्रु सडकमा कुरेर बस्नुपर्ने अवस्था अन्त्य हुनेछ, समयमै गन्तव्यमा पुगिन्छ।अहिले द्रुत बसको सङ्ख्या सीमित भएकाले बस कुर्दाकुर्दै ढिलो हुने गरेको उनले गुनासो गरे।
सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं। ५ स्थानीय घर भई हाल मध्यपुर थिमिको निकोसेरामा बस्दै आएकी सीता तामाङले पनि द्रुत बसबाट यात्रा गर्दा समय बचत भए पनि बस कुर्दाकुर्दै समय बित्ने गरेको बताइन् ।
उनले भनिन्, “द्रुत बस सञ्चालनमा आएदेखि नै म सधैँजसो सम्भव भएसम्म द्रुत बसै चढ्छु तर सीमित बस मात्र भएकाले बस कुर्दाकुर्दै समय बित्ने भएकाले कहिलेकाहीँ त अन्य बस चढ्नु र द्रुत बस चढ्नुमा खासै फरक पर्दैन ।
अहिले सूर्यविनायकदेखि रत्नपार्कसम्मको १३ किलोमिटर दूरीको बाटोमा कार्यालय समयमा अन्य बस चढ्दा एक घण्टादेखि सवा घण्टासम्म लाग्ने गरेको उनले सुनाइन् ।
दु्रत बस चल्दा सार्वजनिक यातायातबाट आवतजावत गर्ने यात्रुका लागि समयको बचत भए पनि बसको सङ्ख्या थोरै भएकाले बस पाउनै कठिन भएको सबै यात्रुको गुनासो छ ।
द्रुत बस सेवाबाट करिब ४० देखि ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्क पु¥याएपछि यात्रु द्रुत बसको सेवाप्रति विश्वस्त भएका छन् तर बसको सङ्ख्या थोरै भएकाले बस कुरिरहनुपरेको गुनासो अधिकांश यात्रुको छ ।
सरकारले साबिकमा सोही रुटमा चल्दै आएका बसलाई ‘द्रुत बस सेवा’ भन्ने बोर्डमात्र राखेर बस सञ्चालन गर्दै आएको छ।
यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनरूले बसको सङ्ख्या थोरै भएको स्वीकार्दै विभागले यातायात व्यवसायीसँग समन्वय गरी द्रुत बसको सङ्ख्या थप गर्न लागेको बताए। यो समाचार गोरखापत्र दैनिकमा छ।