एसिड खरिद–बिक्रीमा अनुमति अनिवार्य

काठमाडौं। घातक रासायनिक पदार्थको बिक्रीवितरणको व्यवस्थालाई नियन्त्रण गर्ने गरी सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली जारी गरेको छ।

खुद्रा रूपमा घातक रासायनिक पदार्थ बिक्रीवितरण हुँदा एसिड आक्रमणलगायतका घटना बढेपछि सरकारले नयाँ कानुन बनाएको थियो। २०७९ असार ३१ गते राजपत्रमा प्रकाशित ऐन अनुसार बिहीबार नियमावली प्रकाशित भएको हो।

ऐन पारित भएको १४ महिनापछि नियमावली जारी भएको हो। खरिद–बिक्रीको मौजुदा व्यवस्थालाई व्यवस्थित र कसिलो बनाउने सरकारले रणनीति लिएको छ।

बिक्रीको नियमनलाई नियमावलीले जोड दिएको छ। एक लिटरको खरिदलाई पनि प्रमुख जिल्ला अधिकारीको पूर्वस्वीकृति अनिवार्य बनाइएको छ।

बिक्रेताले दैनिक बिक्रीको परिमाणको जानकारी सरकारले तोकेको विद्युतीय प्रणालीमा पेस गर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ।

प्रमुख जिल्ला अधिकारीलाई प्रत्येक छ महिनामा उत्पादन, निकासी, पैठारी र मौज्दातको विवरण इजाजत लिएका फर्मले पेस गर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ।