प्रहरी महानिरीक्षक वसन्त कुँवरको नेतृत्वमा ४ सदस्यीय टोली बेलायत प्रस्थान

फाइल तस्वीर

काठमाडौं। प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ४ सदस्यीय टोली शनिबार संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेको छ।

बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रममा सहभागी हुन उनीहरू त्यसतर्फ प्रस्थान गरेका हुन्।

उक्त टोलीमा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर ,प्रहरी नायव महानिरीक्षक विष्णु कुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षक द्वय दान बहादुर कार्की र शेखर खनाल सम्मिलित रहेका छन्।

उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक बिदाइ गरे।

उक्त कार्यक्रममा विकसित अपराधका चुनौतीहरूबारे अनुभव आदान प्रदान गर्नुका साथै त्यस्ता चुनौतीहरूको सामना गर्न उपयुक्त कानुन, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने, सामुदायिक प्रहरी सेवा, यौनिक एवम् लैङ्गिक हिंसाका साथै बालबालिका विरुद्ध हुने अपराधको खतरालाई सम्बोधन गर्ने विषयमा छलफल हुने छ।

 सो अवधिमा बेलायत प्रहरी, प्रहरी इकाई आदिमा भेटघाट तथा अवलोकनको कार्यक्रम रहेको छ। प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने भएका छन्।