साउदीमा मृत्युदण्डको पर्खाइमा तीन नेपाली

काठमाडौं । साउदी अरबमा तीन नेपाली मृत्युदण्डको पर्खाइमा रहेका छन्। साउदी जेलमा रहेका ४ सय ८० जना नेपालीमध्ये तीन जनालाई साउदीको अदालतबाट मृत्युदण्डको घोषणा भएर आएको रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीले जानकारी दिए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीको आयोजना र नेपाली दूतावास रियादको सहकार्यमा आयोजित ‘श्रमिक समस्या समाधानमा दूतावास र नेपाली सामुदायिक संस्थाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै श्रम सहचारी कार्कीले तीन नेपालीलाई अदालतबाट मृत्युदण्डको फैसला भएर दूतावासमा जानकारी आएको बताए।

मृत्युदण्डको फैसला सुनाइएका नेपालीहरू कुन अपराधमा दोषी देखिएको र उनीहरूको नाम के के हो त्यो भने केही खुलाइएको छैन। गतवर्ष पनि दुई नेपालीलाई मृत्युदण्डको सजाय तोकेकोमा मृत्युदण्ड कार्यान्वयन भएको उनले बताए।

उनका अनुसार हालसम्म थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ गरेर जेलमा राखिएका छन् । दूतावासले जेलभित्र करिब ३० नेपालीसँग अन्तक्र्रिया गर्दा अधिकांश नेपालीकै कारण नै नेपालीहरू जेल पर्ने गरेको पाइएको उनले बताए ।

कतिपय साउदी पुगेको ६ महिनामै अरूको लहलहैमा लागेर जेल पर्ने गरेको पाइएको छ । साउदी नेपाली श्रमिकको लागि प्रमुख गन्तव्य देश हो । तर, यहाँको कानुन कडा छ । नियम कानुन’ थाहा नहुँदा पनि वैदेशिक रोजगारीमा साउदीमा रहेका धेरै नेपाली श्रमिक फस्ने गरेका छन्।

साउदीमा रक्सी सेवन, बिक्री वितरण तथा ओसारपसारलाई ठुलो अपराध मानिन्छ। बिक्री वितरणको मात्राका आधारमा ६ महिनादेखि वर्षौंवर्षसम्म जेल सजाय हुन सक्ने तथा जरिमाना पनि हुने भएकाले यस्तो कार्यमा नलाग्न र नलगाउन पनि दूतावासले त्यहाँ रहेका नेपाली समुदायलाई आग्रह गरेको छ। यो समाचार राजधानी दैनिकमा छ।