काठमडौं महानगरपालिकाले कुकुर र बिरालाको बन्ध्याकरण गर्ने
काठमाडौं। काठमाडौं महानगरपालिकाले मंगलबारदेखि सडकका कुकुर र बिरालाहरुको बन्ध्याकरण तथा खोप अभियान सुरु गर्ने भएको छ।
मेयर बालेन साहले मंगलबार बिहान सामाजिक सञ्जाल माफर्त महानगरपालिकाका ९ वटा वडामा मंगलबारदेखि सामुदायिक कुकुर तथा बिरालाहरुको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रम सुरु गर्ने जानकारी दिनुभएको हो।
वडा नम्बर ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ बाट एकै साथ यो अभियान चलाउने पनि मेयर साहले बताउनु भएको छ। आगामी तीन महिनाभित्र ५ हजार ८ सय कुकुरको बन्ध्याकरण र १६ हजार कुकुर बिरालालाई रेविजविरुद्धको खोप दिइने पनि उहाँले जानकारी दिनुभएको छ।
बन्ध्याकरण तथा खोपका लागि सम्बन्धि वडामा रहेका सामाजिक संघ संस्थाहरु परिचालन गरिने भएको छ। जनप्रतिनिधि र वडाबाट खटिएका कर्मचारीको रोहवरमा कुकुर र बिराला समातेर बन्ध्याकरण तथा खोप लगाइने छ भने बन्ध्याकरण गरिने कुकुर र बिरालालाई आवश्यक आराम गराएपछि मात्रै छाडिने पनि मेयर साहले बताउनु भएको छ।
खोप दिइएका वा बन्ध्याकरण गरिएका कुकुर बिरालाहरुको कानमा संकेत चिन्ह राखिने छ।