महँगी र कालो बजारीले सर्वसाधारण मारमा

सांकेतिक तस्वीर

काठमाडौं। महँगी र कालो बजारीले सर्वसाधारण जनता मारमा परिरहेको बेला बजार अनुगमन गर्ने निकायबीच समन्वय नहुँदा अनुगमन कार्य प्रभावकारी हुन नसकेको पाइएको छ।

दशैं तिहार नजिकिँदै गर्दा उपभोक्ताको हकहितको सुरक्षा गर्न अनुगमन गर्ने निकायबीच समन्वय नहुँदा दैनिक उपभोग्य सामग्रीको मूल्यमा अनियन्त्रित रूपमा वृद्धि भएको पाइएको छ।

सर्वसाधारण जनताको ढाड सेक्ने गरी जिरा, चिनी, चामल, चना, गेडागुडी, अन्य तरकारीको मूल्य अत्यधिक आकासिएको छ।

अहिले उद्योग वाणिज्य विभाग, नाप तौैल तथा गुणस्तर विभाग, खाद्य विभाग र जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला अधिकारीको संयोजकत्वमा छुट्टाछुट्टै बजार अनुगमन हुँदै आएको छ।

तर, अनुगमन गर्ने निकायबीच आपसी समन्वय नहुँदा अनुगमन गर्ने ठाउँ र पसल दोहोरिने, एक निकाय र अर्को निकायको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको ठान्नेजस्ता समस्याहरू उत्पन्न भएको पाइएको छ।

अनुगमन गर्ने फरकफरक शैली, तौरतरिकालाई लिएर निजी क्षेत्रले सधैं बिरोध गर्दै आएको छ। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।