विश्वकप फुटबल छनोटका लागि नेपाली टोली घोषणा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोटको प्रारम्भिक चरणको खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेको छ।
नेपालले प्ररम्भिक चरणको पहिलो लेग भोलि बिहीबार दशरथ रंगशालामा लाओसविरुद्ध खेल्दै छ। यो खेल बेलुकी साढे ५ बजे सुरु हुने छ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले नयाँ खेलाडी अमृत श्रेष्ठ र सञ्जीव विष्टलाई समेट्दै २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।
हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यूरोड टिमका फरवार्ड सञ्जीव विष्ट पहिलो पटक राष्ट्रिय टोलीमा प्रवेश गरेका हुन्।
बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट अन्तिम टोली छनोट गरिएको हो। गोलकिपर अनिल देउला र डिफेण्डर छिरिङ लामा भने टिममा अटाएनन्।
छिरिङ यसअघि म्यानमार विरुद्धको मेत्रीपूर्ण खेल खेल्ने टिममा थिए। यस्तै म्यानमार विरुद्ध टिममा रहेका फरवार्ड नवयुग श्रेष्ठ पनि यसपटक टिममा छैनन्।
होम एण्ड अवेका आधारमा हुने छनोट खेलमा नेपालले लाओससँग दोस्रो लेग असोज ३० गते उसकै मैदानमा खेल्नेछ । यस खेलको विजेता टोलीले विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाउने छन्।
नेपाली टीम
गोलकिपर: किरणकुमार लिम्बू, दीप कार्की र अभिषेक बराल
डिफेन्डर: सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी र अमृत श्रेष्ठ
मिडफिल्डर: एरिक विष्ट, सुदिप गुरुङ, लकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छुन्जु र मनिष डाँगी
फरवार्ड : अन्जन विष्ट, आयुष घलान, जिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया र सञ्जीव विष्ट।