जुम्ला र कालिकोटका २१० जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया
काठमाडौं। नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा जुम्ला र कालिकोट जिल्लामा सम्पन्न विभिन्न आँखा शिबिर मार्फत २१० जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ।
विभिन्न पालिकाहरुकाा ९८६ जना बिरामीहरुको आँखा परिक्षण गर्दा २१० जनामा मोतियाबिन्दुको समस्या देखिएको हो। मोतियाबिन्दु देखिएका सबै बिरामीहरुको नेपाल नेत्रज्योति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली, आई केयर फाउन्डेशन र रिड्ली फाउन्डेशनको आर्थिक सहयोगमा निःशुल्क शल्यक्रिया गरिएको हो।
असोज ११ गतेदेखि १४ गतेसम्म नेपाल नेत्रज्योति संघ जिल्ला शाखा जुम्लाको आयोजनामा जुम्लाको खलङ्गामामा सञ्चालन गरिएको शिविरमा ९० जनाको मोतिविन्दुको निशुल्क शल्यक्रिया गरिएको थियो भने ४ सय ११ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो।
त्यस्तै असोज १५ गतेदेखि १७ गतेसम्म जुम्लाको हिमा गाँउपालिकामा सञ्चालन गरिएको शिविरमा ४३ जनाको मोतिविन्दुको निशुल्क शल्यक्रिया गरिएको थियो भने ३ सय ५० जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो।
त्यसैगरी असोज २० र २१ गते कालिकोटको पलाँता गाँउपालिकामा सञ्चालन गरिएको शिविरमा ७७ जनाको मोतिविन्दुको निशुल्क शल्यक्रिया गरिएको थियो भने २ सय २५ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो।
नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण कोहि पनि अन्धोपनमा जिवन विताउन नपरोस भन्ने हेतुले पछिल्लो समय हुने संग लिने र नहुँनेलाई सेवा दिने उद्देश्यले स्थानिय सरकार संगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गर्दै आएको छ।