नयाँ हुँ भन्ने दलहरुले पुष्टि गरेर देखाउनुपर्छ: स्महामन्त्री शर्मा

फाइल तस्वीर

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ हुँ भन्ने राजनीतिक दलहरुले आफूलाई पुष्टि गरेर देखाउनुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै उनले नयाँ भन्ने कुरा मितिको आधारमा नभई संस्कृति र प्रवृत्तिको आधारमा हुने भएकाले नयाँ राजनीतिक दलहरुले आफूलाई नयाँ हुँ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने तर्क गरे।

दसैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर नेकपा(एमाले) झापा–काठमाडौँ सम्पर्क मञ्चले काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री शर्माले कुनै राजनीतिक दल पुरानो हुँदैमा सक्कियो भन्न नमिल्ने बताए।

‘कसैले भन्दै गर्दा पुरानाका दिन गए। पुराना धर्म शाष्त्र पनि हो। पुराना चाँही यो धर्ती पनि हो। पुराना भन्ने चीज त्यति सजिलै जाँदैन। नयाँ भन्ने पनि मितिले भनेर हुँदैन।

विश्वप्रकाश संसदमा पहिलो पटक छ। नयाँ हो। तर, नयाँ हुँ भन्न मैले केही नयाँ गरेर पुष्टि गर्नुपर्छ’ उनले भने, ‘कुनै दलले पनि, व्यक्तिले पनि नयाँ जन्म मितिले भनेर मात्रै पुग्दैन।

नयाँचाहीँ प्रवृत्तिमा, संस्कृतिमा हुन्छ। कुनै राजनीतिक दल पुराना हुँदैमा, हामी आफैंमा विदाई पनि हुन्नौं। र, शक्तिमा, सरकामा छौ भन्दैमा हामी सदैव सशक्त पनि हुँदैनौं।

उनले मुलुक बनाउन सकिन्छ भन्ने अठोट लिएर प्रमुख राजनीतिक दलहरु एकजुट भएर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए । महामन्त्री शर्माले सत्तापक्ष र प्रतिपक्ष मिलेर मुलुकलाई अघि बढाउनुपर्ने बताए ।

माओवादी केन्द्रका नेता राम कार्कीले मुलुकमा समाजवादको विकल्प नभएको उल्लेख गर्दै त्यसका लागि एकतावद्ध भएर अघि बढन कांग्रेस–कम्युनिष्ट पार्टीहरुलाई आग्रह गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्र सकिन लागेको भन्दै त्यसलाई बलियो बनाउन पनि समाजवादका पक्षधर राजनीतिक पार्टीहरु जुर्मुराएर उठनुपर्ने बताए ।

नेता कार्कीले भने, ‘हाम्रो धर्म निरपेक्षता, हाम्रो संघीय प्रजातन्त्र, हाम्रो समावेशी प्रजातन्त्र र हाम्रो गणतन्त्र नियाउरो भएर, रुन्चे भएर, पिलन्धरे भएर सकिन लागेको छ । हाम्रो राजनीतिक संस्कृति रुन्चे भएको कारणले गर्दा प्रतिगामीहरु कस्सिएर आएका छन । उनीहरुको आँट बढेको छ । अव एकचोटी यो बाँकि रहेका कम्युनिष्टहरु र समाजबाद मान्ने का‌ग्रेसहरु एकचोटी जुर्मुराउने हो भने, नया तरिकाले आफूलाई अघि बढाउने हो भने विकल्प फेरी पनि समाजवादनै हो । नेपाली समाजको विकल्प भनेको समाजवाद मात्रै हुन सक्छ।

कार्यक्रममा बोल्दै नेकपा (माले)का महासचिव सिपी मैनालीले ठूला राजनीतिक दलहरुले विगतमा गरेका गल्ती, कमजोरीहरुलाई सच्याउँदै अघि बढनुपर्ने बताए।

उनले मिशन २०८४ लाई सफल बनाउन पनि ठूला राजनीतिक दलहरुले विचार, राजनीतिक र शैलीमा आमूल सुधार गरेर अघि बढनुपर्ने बताए।

महासचिव मैनालीले भने,विगतमा गरिएको गल्ती, कमजोरीहरुलाई सच्याएर, चिन्हित गरेर तिनीहरुलाई सच्याउने काम गर्यो भने मिशन २०८४ हुन्छ।

अहिलेको मिशन २०८४ के हो रु कसैले पनि मिशन २०८४ को नाममा विगत ७५ वर्षको सिद्धान्तमा, राजनीतिमा, शैलीमा के भयो भनेर कसैले पनि समिक्षा गरेर अघि बढन चाहेको देखिदैन। यसले मुलुकलाई अघि बढाउन सक्दैन।

महासचिव मैनालीले ठूला दलहरुले आफूलाई पुनर्विचार नगरेकै कारण नयाँ राजनीतिक दलहरुले खेल्ने अवसर पाएको जिकिर समेत गरे।