यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका निर्णय

काठमाडौं। सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ।बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नेपाल र इजिप्टबीचको युवा तथा खेलकुदसम्बन्धी यसैसाथ संलग्न मेमोरण्डम अफ अण्डरस्टा्याण्डिङ बिटुइन द गभर्मेण्ट अफ नेपाल एण्ड द गभर्मेण्ट अफ द अरब रिपब्लिक अफ इजिप्ट अन कोअपरेसन इन युथ एण्ड स्पोट्र्स अफेयर्स विषयक समझदारी पत्र स्वीकृत गरी सोही बमोजिमको समझदारी पत्रमा समकक्षीलाई हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृत प्रदान गरेको बताइन्।

उनले नेपाल र कतार सरकारबीच हुने संलग्न प्रोटोकल बिटुइन गभर्मेण्ट अफ नेपाल एण्ड द गभर्मेण्ट अफ द स्टेट अफ कतार अन कोअपरेसन इन द फिल्ड अफ प्रेस एण्ड इन्फरमेसन विषयक संलग्न समझदरी पत्र स्वीकृत गर्ने र मन्त्रालयलाई सरकारको तर्फबाट उक्त समझदारी पत्रमा समकक्षी मित्रलाई हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय गरेको पनि बताइन्।

प्रवक्ता शर्माले चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हृदयघातका कारण बेइजिङस्थित अस्पतालमा उपचाररत रहेको र अवस्था खतरामुक्त रहेको बताइन्।

गृहमन्त्रीज्यू अहिले चीन भ्रमणमा हुनुहुन्छ। उहाँलाई अचानक गएराति हृदयघात भयो र उहाँलाई चाइनाको बेइजिङस्थित अस्पतालमा अपरेसन भएको छ। उहाँ अहिले खतरामुक्त हुनुहुन्छ। केही दिन उहाँ उतै रहनु हुनेछ। बोल्नसक्ने स्थितिमा आउनुभएको छ।’