नेपाल यू–१९ प्रिमियर कपको फाइनलमा
काठमाडौं । नेपाल यू–१९ राष्ट्रिय क्रिकेट टोली एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ।वर्षाले प्रभावित सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस पद्दतिमा १ सय ४४ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो। अपराजित नेपाल प्रतियोगिताको फाइनलमा पुगेसँगै यू–१९ एसिया कपका लागि पनि छनोट भएको छ।
नेपाल २५ ओभरमा २ विकेट गुमाएर १ सय ४० रनको स्थितिमा रहँदा वर्षाले खेल बाधक बनाएको थियो। त्यसपछि लामो समय वर्षा हुँदा जापानले २२ ओभरमा जितका लागि १ सय ८७ रनको लक्ष्य पाएको थियो। नेपालले ५० ओभर खेल्न ब्याटिङ सुरु गरेको र वर्षाले बिथोलेपछि डकवर्थ लेविस पद्दतिबाट जापानले सो लक्ष्य पाएको थियो।
नेपालका लागि लागि ओपनर दीपक बोहोराले ७० बलमा ७९ रन जोडे। १० चौका र २ छक्का प्रहार गरेका उनी कज़ुमा काटोको बाउन्सरमा कट बिहाईन्ड भएका थिए।
दीपक र आकाश त्रिपाठीले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए। त्यसअघि ओपनर अर्जुन कुमाल १० रनमा क्याच आउट भएका थिए। २३ बलमा १ चौका प्रहार गरेका उनी डिप स्क्वायर लेगमा क्याच आउट भएका थिए।
क्रिजमा रहेका आकाशले ३५ रन र कप्तान देव खनालले ८ रन जोड्दा आकाशले ४७ बलमा १ चौका र १ छक्का प्रहार गरे।
जवाफमा जापान ११.५ ओभरमा ४३ रनमा अलआउट भएको थियो। जापानका शोतारो हिरात्सुकाले १५ र किफ़र यामामोटोले १३ रन जोड्नुबाहेक अन्यले दोहोरो स्कोर जोड्न सकेनन्।
नेपालका लागि हेमन्त धामी र दीपेश कंडेलले ३÷३ विकेट लिए। सुभाष भण्डारीले २ र आकाश चन्दले १ विकेट लिए।
नेपाल र जापान दुवै आ–आफ्नो समूहको विजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए। नेपालले अब मंगलबार हुने फाइनलमा यूएईको सामना गर्नेछ। यूएईले अर्को सेमिफाइनलमा सिंगापुरलाई हराएको थियो।
प्रतियोगिताको शीर्ष ३ टोलीले पाकिस्तानमा हुने यू–१९ एसिया कप खेल्नेछन्। नेपाल र यूएई एसिया कपमा पुगेका छन्। अब जापान र सिंगापुरले तेस्रो स्थान र एसिया कपमा स्थान बनाउन खेल्नेछन्।