आर्थिक मन्दीले जनतालाई सास्ती, विदेशी ऋणमा राज्य सञ्चालक र जनप्रतिनिधिहरुको मोजमस्ती
-अनुसा थापा
दशैं नेपालीको महान् चाड । दशैं लाग्नेबित्तिकै अधिकांश आफ्नो थातथलो फर्किन्छन्। काठमाडौं उपत्यकाबाट मात्रै वर्षेनि २५ देखि २८ लाख सर्वसाधारण आफ्नो जन्मथलो फर्किने गरेका छन्। तर, यसपालिको दशैंमा यो संख्यामा कमी आएको छ।हालसम्म झण्डै १५ लाखले मात्रै उपत्यका छोडेका छन्। यो कुराले दुईटा संकेत गरेको छ।
पहिलोः कतिपय मँहगी, बेरोजगारीका कारण पहिल्यै गाउँ फर्किए !
दोस्रोः कतिपय पैसा नभएपछि गाउँ नै गएनन् !
काम गरेको ठाउँमा तलब नपाएकाहरु दशैं मान्न गाउँघर फर्किएनन्। अधिकांश निजी कार्यालयले यो वर्ष पेश्की कटौती गरेको छ। तलब दिएपनि पेश्की दिएनन्। कतिपय संस्थाले त तलब नै दिएनन्।
आर्थिक मन्दीका कारण तलब र पेश्की दिन नसकेको भन्दै साहुहरु पन्छिएका छन्। अधिकांश कार्यालयले आर्थिक मन्दी भनेर पेश्की कटौती गरेको छर्लङ्ग छ।
तलब र पेश्की नपाएकोहरुको दशैं खल्लो भएको छ । गाउँघर त जान पाएनन्, यहाँ बसेर पनि दशैं मान्न नसकेको अवस्था छ। न एकजोर लुगा किन्न सकें न एक छाक मिठो मसिना नै खान पाए।
चाडबाड आए–नआएको केही फरक परेको छैन्। सर्वसाधारण आर्थिक मन्दीबाट गुज्रिरहँदा जनप्रतिनिधिहरुले तलब पनि लिए, पेश्की पनि लिए । वडाध्यक्ष, मेयर, सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिदेखि लिएर भूपूसम्मले तलब र पेश्की पाए।
देशलाई मन्दी भयो। जनतालाई मन्दीले छोयो। तर, राज्य सञ्चालक र सरकारी कर्मचारीहरुलाई मन्दीको असर परेन्। आश्चर्य लाग्ने कुरा त के छ भने जसले कर तिर्छ, उसलाई मन्दीले असर पार्यो। ऊ घर फर्किन सकेन्। दशैं मनाउन उसले सकेको छैन्।
देशको सेवा गर्छु, सार्वजनिक काम गर्छु भन्नेले चाँहि तलब र पेश्की दुवै पाए। राज्यको ढुकुटी रित्तिसकेको छ भन्ने कुरा सबैलाई थाहा छ।
तैपनि, सरकारले तलब र पेश्की दियो, कसरी ? विदेशीसँग हात थापेर । अन्य मुलुकबाट ऋण ल्याएर सरकारले तलब र पेश्की दिएको हो । जनताको आवाज हुँ भनेर कराउँदै हिँड्ने रवि लामिछाने र ज्ञानेन्द्र शाहीको पनि असली रुप बाहिर आएको छ । के–के गर्छ भनेर चितवन निर्वाचन क्षेत्र नम्बर २ का जनताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई चुनाव जिताए ।
शाही पनि जुम्लाबाट निर्वाचित भएर आए । चुनावको बेलामा यिनीहरुले जनताको दुःखमा साथ दिन्छौं भनेर ठूल्ठूला कुरा गरेका थिए। तर, अन्य राजनीतिक दलका नेता र यिनीहरुमा के नै फरक देखियो र ? सरकारी गाडी चढें, तलबभत्ता बुझें। अब अहिले दशैं पेश्की पनि लिए। जनताले दशैं मनाउन सकेका छन् कि छैनन्, यिनीहरुले फर्किएर हेरे ? हेरेनन्।
जनतालाई झुक्काउने काम भएको छ । रास्वपाका २१ जना सांसदले अब जनतासँग माफी माग्नुपर्छ। नैतिकता छ भने पद त्याग्नुपर्छ । हिजो चुनावअघि बोलेका कुरा त पूरा गर्नुपर्यो नि।
उनीहरुले भोट माग्ने बेलामा सरकारी सेवासुविधा लिँदैनौं, आफ्नो घरको खाएर जनताको सेवा गछौं, देशविदेश घुम्दैनौं, जनताको सुःखदुःखमा साथ दिन्छौं भन्ने त उनीहरु नै थिए।
राज्यबाट पाउने सेवासुविधाबाट एक रुपैयाँ पनि नलिने भनेर आश्वासन दिने त यिनीहरु नै हुन् । तर, यिनीहरुले केचाँहि छोडे ? तलब लिएका छन्, सरकारी गाडी चढेका छन्, घरभाडा बुझेका छन्, स्वकीय सचिव राखेका छन्।
राप्रपाका सांसदहरु राष्ट्रियताको ठूल्ठूला कुरा गर्छन्। १४ जना राप्रपाका सांसदले राज्यबाट पाउनुपर्ने सबै सेवासुविधा लिएका छन्। देशको महिमा गाउने यिनीहरुलाई विदेशीबाट हात थापेर ल्याएको पैसाले सेवासुविधा लिन लाज लागेन् ?
मुलुक र जनताको नाममा खान आएकाहरुको असली रुप देखि हालियो । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको मुखमा जतिबेला पनि देश र जनताको नाम झुण्डिराखेको हुन्छ। तर, उनलाई देश र जनताको कति माया रहेछ ? भन्ने त पुष्टि भइसकेको छ।
देश धितो राखेर ल्याएको पैसाबाट उनले पनि सेवासुविधा लिएकै छन् । अनि यो ‘गोहीको आँशु झारेर’ जनतालाई कतिञ्जेल झुक्काउने ?
यिनीहरुले दिँउसै रात पारेर देश लुछेर खाएका छन्। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि एक नम्बरका ‘ड्रयाम्याटिक’ नेता हुन्। आफूलाई त्यागी नेता देखाउनका लागि उनले केसम्म गरेनन् ?
कहिले टेम्पो चढे त कहिले माइक्रोबसबाट लडें। कहिले एउटै कोठामा २१ वर्ष बसेको भनेर चर्चामा आए। उनको यो ‘स्टन्टबाजी’ पनि सांसद नभएसम्मका लागि रहेको भन्ने पुष्टि भइसकेको छ।
उनले पनि राज्यबाट पाउनुपर्ने सबै सेवासुविधा लिएका छन्। नेमकिपाबाट सांसद प्रेम सुवाल जहिले पनि सदनमा उभिएर विरोध मात्रै गरिरहेका हुन्छन्। विरोध गर्नमा उनी अग्रसर छन्।
त्यसैगरी विदेशीबाट ऋण ल्याएको पैसाबाट तलबभत्ता र सेवासुविधा लिँदिन भन्नलाई अग्रसर भइदिए हुनेथियो । सरकारबाट पाउनुपर्नेमध्ये एक रुपैयाँ पनि छोडेका होइनन्।
मधेशी दलहरु पनि त्यस्तै। नागरिक उन्मुक्ति पार्टी पनि त्यही लिष्टमा जोडिन्छ । जुनसुकै पार्टीका सांसद हुन्, सबै एउटै ‘ड्याङ्गका मुला’ हुन् । सबैको सिद्धान्त र विचार एउटै छ,‘देशलाई लुटेर खाने ।
देश सकियोस् तर तलबभत्ता र सेवासुविधाचाँहि पाउनुपर्यो। माओवादीको त झनै कुरै नगरौं। खसीको टाउको देखाएर बाख्राको मासु बेच्यो भन्ने माओवादी नै हो । देश राजा, कांग्रेस र एमालेले सकायो।
जनतामाथि शोषण गर्यो। देश विदेशीलाई बेच्यो भनेर हतियार उठाउने माओवादी पनि आज उही लिष्टमा समावेश भएको छ। देश र जनताका लागि के–के न गर्छौं भनेर माओवादीले १७ हजार नेपाली मार्यो।
देशमा परिवर्तन खोज्ने माओवादीबाट जनताले के परिवर्तन पाए ? माओवादीका सांसद र अन्य पार्टीका सांसदमा के फरक छ ? अहिले मुलुकको प्रधानमन्त्री माओवादीका अध्यक्ष हुन्।
उनले तलबभत्ता, सेवासुविधा र पेश्की त्याग्न सके ? माओवादीले जनताका लागि होइन्, आफ्नो व्यक्तिगत स्वार्थका लागि हतियार उठाएको थियो। माओवादीको पछाडि लाग्दा जनता ‘बलिको बोको’ मात्रै भए।
त्यत्रा नेपालीको रगत चुहाएर माओवादीले मोजमस्ती गरेको छ । एमालेमा कोचाँहि राम्रो सिद्धान्त र विचार भएको नेता छ ? मदन भण्डारी र मनमोहन अधिकारी मरिहालें । पार्टी अध्यक्ष केपी शर्मा ओलीको कुरै नगरौं।
एमालेमा नेता होइन्, गुण्डाहरुको रजगज छ। एमालेमा नेताको विचारधारा भएको एउटा व्यक्ति पनि छैन्। दलालीले चलाएको पार्टी कुन ? भनेर सोध्यो भने एमालेको नाम आउँछ।
कांग्रेस त पहिल्यैदेखि धनाढ्यहरुको पार्टी। देश र जनताका लागि काम गर्ने कृष्णप्रसाद भट्टराई र प्रदीप गिरी मरिहाले। अहिले कांग्रेसमा जनताको हितमा काम गर्ने र देश जोगाउने कोही पनि छैनन्।
पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजुको इशारामा चलेका छन्। डा शेखर कोइराला भन्नलाई कांग्रेस हुन् तर एमालेको शरणमा पुगेका छन् । पदमा लोभिएकाहरुलाई देश र जनताको कुनै मतलब नै छैन्।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल बैंकका कर्मचारी हुन् । बैंकका कर्मचारीको स्वभावबाट सबै परिचित नै छन्। कहाँबाट नाफा हुन्छ ?
कसरी ठगेर खान पाइन्छ भन्नेतिर बैंकका कर्मचारीहरुले दिमाग दौडाइरहेका हुन्छन्। अब उनीबाट त झन् के आश गर्नु। जनताले अलिक राम्रो ठानेका बाबुराम भट्टराईले राजनीतिबाट सन्यास लिइहाले।
देशमा यत्रा सांसद छन् । सरकारलाई घच्घचाउनुपर्ने सांसदहरु आफैं लुटेरा खान पल्केपछि कसरी देश उभो लाग्छ ? २४ खर्ब विदेशी ऋण लागिसकेको छ।
यस्तै पारा रह्यो भने नेपाली हो भन्न पनि नपाइएला। त्यसैले अब त सुध्रियौं। अझैं पनि देश र जनताका लागि काम गर्छौं भनेर गीत गाउने होकि ? अब जनता पनि यिनीहरुको गीतको पछाडि नलागौं।