संसद्को संयुक्त बैठक आज बस्दै,महासचिव गुटरेसले सम्बोधन गर्ने
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि संघीय संसद्को संयुक्त बैठक बस्ने समय आज अपराह्न ४ बजेलाई तोकिएको छ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा आज ४ बजेका लागि बैठकको समय निर्धारण गरेको संघीय संसद्का महासचिव डा भरतराज गौतमले जनाएका छन्।
गौतमले सोमबार जारी गरेको सूचनामा कार्तिक १४ गते चार बजे बैठक बस्ने उल्लेख छ। उनका अनुसार संयुक्त बैठक नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित प्रतिनिधि सभा बैठक कक्षमा बस्नेछ।
महासचिव गुटरेस चार दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आएका हुन्। उनी बुधबार फर्कदैछन्।