रिगललाई आममाफी दिने निर्णयविरुद्ध आज पनि सुनुवाइ हुने

काठमाडौं । योगराज ढकाल (रिगल)लाई कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज पनि हुने भएको छ।

सर्वोच्च अदालतले मंगलबार सुनुवाइ सम्पन्न नभएपछि हेर्दाहेर्दैमा राखेको थियो।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा,सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाइमा सरकारी पक्षले बहस भएको थियो।

मंगलबार महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गरेका थिए। आज बाँकी सुनुवाइ हुनेछ।

संविधान दिवसका अवसरमा यही असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकालको कैद मिनाहा भएको थियो।

राष्ट्रपतिको निर्णयविरुद्ध हत्या गरिएका चेतन मानन्धरको पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको नेतृत्वमा बहस भएको थियो।