विद्यालय वरपर मदिरा तथा सुर्तीजन्य पदार्थ बेच्न नपाउने
काठमाडौं । गौर नगरपालिकाका मेयर शम्भु साहले विद्यालय वरपर मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न चेतावनी दिएका छन्।मेयर साहले बुधबार नमुना जुद्व मावि गौरको शैक्षिक गतिविधि र विकास निर्माण कार्यको छड्के अनुगमन पनि गरेका छन्।
अनुगमनको क्रममा विद्यालय वरपर रहेका पसलहरूमा मादक पदार्थ,सुर्तीजन्य पदार्थ तम्बाकु गुट्खा बिक्री वितरण नगर्न पसल सञ्चालकहरूलाई उनले चेतावनी दिएका हुन।
अनुगमनको क्रममा प्रधानाध्यापक कामोद तिवारी वडाध्यक्ष विनोद जयसवाल लगायतको उपस्थिति रहेको थियो। सो क्रममा उनले जुद्ध मावि गौरको छात्रावास र जुद्ध क्याम्पसको समेत निरीक्षण गरेका थिए।
उनले स्तरीय तरिकाले जुद्ध क्याम्पस सञ्चालन गर्न शिक्षक तथा कर्मचारीलाई निर्देशन दिएका छन्। जीर्ण बन्दै गएको छात्रावासलाई आजै देखि सफा गरी निर्माणको कार्य सञ्चालन गर्न प्रधानाध्यापक एवं वडाध्यक्षलाई मेयर साहले आग्रह गरेका छन्।
अनुगमनको क्रममा विद्यालय परिसर भन्दा बाहिर छेउमै रहेको क्यान्टिनभित्र विद्यालयका केही विद्यार्थीहरु शङ्कास्पद अवस्थामा भेटेपछि प्रधानाध्यापक र शिक्षकको रोहवरमा विद्यार्थी र क्यान्टिन सञ्चालकलाई समेत सम्झाई बुझाई गरिएको थियो।