डिलाईट सहकारीको आवरण मिटरव्याजी धन्दा: पैसा असुल्न ऋणीको ससुराली धाँउदै सञ्चालक

ललितपुर । काठमाडौं उपत्यकामा वितिय तरलताका कारण सहकारीहरु संकटमा परिरहेको अवस्थामा केही सहकारी भने बिना धितो खुल्लम खुल्ला मिटरब्याजमा लगानी गरी मालामाल बन्दै आइरहेको पाइएको हो।

दुई दम्पतीद्वारा सञ्चालन हुँदै आएको काठमाडौंंको इन्द्रचोकमा रहेको जनविकास वचत तथा ऋण सहकारी संस्था र ललितपुरको जावलखेलमा रहेको डिलाइट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बीच गत वर्ष मर्ज भई डिलाइट बहुउद्देश्यीय सहकारीकै नामबाट २४ दखी ३६ प्रतिशतमा ऋण लगानी गरी मिटरव्याजी कारोबार गरीरहेको सहकारीको स्टेटमेन्टबाट प्रस्ट हुन्छ।

जावलाखेल केन्द्रीय कार्यालय रहेको डिलाइट बहुउद्देश्यीय सहकारी संस्थाले बिना धितो २४ प्रतिशतको दरले मिटरब्याजमा दुईवटा ऋण प्रवाह गरेको पाइएको छ।

सो सहकारीको इन्द्रचोक ब्रान्च प्रमुख सविता श्रेष्ठले मिटरब्याजी हिसावले बिना धितो ऋण लगानी गरेको उनी स्वयंले बताएकी छिन। सहकारीले २४ प्रतिशत व्याज लिन मिल्छत रु भन्ने हाम्रो जिज्ञासामा श्रेष्ठ भन्छिन् २४ प्रतिशत मा ऋण दियौं के फरक पर्यो प्रहरी ,सिडियो र मसलदार केटाहरु हाम्रा छन् कस्ले के गर्छ “तिमिहरु जस्ता पत्रकार लाई ठेगाना लगाउन हामीले जानेका छौ।

अझ रोचक कुरा के छ भने डिलाइट बहुउद्देश्यीय सहकारीको आफूलाई संञ्चालक बताउने आशिष तामाङ भन्छन् ” ऋणि कचौरा लिएर माग्न हिंडे ऋण छुट दिन हाम्रो संस्था तयार छ नत्र किड्नी बेचेर भएपनि २४ प्रतिशतका दरले नै व्याज सहित ऋण ऋिणले तिर्नुपर्छ।

काठमाडौंको असन निवासी श्रेष्ठ थरका ऋणिलाई सुरुमा १६ प्रतिशतका दरले ऋण दिएपनि २४ प्रतिशतको दरले हिसाब गरी सहकारीले स्टेटमेन्ट दिएपछि डिलाइट बहुउद्देश्यीय सहकारीको मिटर व्याजी धन्दा बारे छताछुल्ल भएको हो।

श्रेष्ठ भन्छन् ‘सहकारीका इन्द्रचोक शाखा प्रमुख सविता श्रेष्ठले मलाई सुरुमा १६ प्रतिशतका दरले तमसुक गराएकी थिइन् पछि ऋण तिर्न जाँदा २४ प्रतिशतले हिसाब गरी सम्पुर्ण ऋण एकमुष्ट तिर्न धम्की दिइन् तर मैले लिएको ऋण तिरीसकेको छु यसको प्रमाण सहकारीले दिएको हिसाब फर्छयौटको पेपरलेनै स्पष्ट हुन्छ। अब म प्रशासनमा उजुरी हाल्ने तयारी गर्दै छु।

यसरी सहकारीको ऋण तिरी सकेपनी सहकारीका मेनेजर सविता श्रेष्ठले ससुरालीमा गई आफ्नो बेईजत गरेको ऋणी श्रेष्ठको आरोप छ।

डिलाइट बहुउद्देश्यीय सहकारीको यी ऋणी त प्रतिनिधि पात्र मात्रै हुन्, यस्ता सयौं ऋणिलाई मिटर व्याजमा ऋण लगानी गरी देशमा परेको आर्थिक संकटको फाइदा उठाउँदै व्याजको स्याज, स्याजको पनि स्याज असुली गरी ऋणीलाई घर न घाटको बनाएको छ डिलाइट सहकारीले।

यसरी मिटर व्याजमा लगाएको ऋण उठाउनको लागि गुण्डाहरु प्रयोग गरी ऋण असुली गर्दै आइरहेको पनि स्रोतले जनाएको छ।

श्रेष्ठले मिटरव्याजमा ऋण लगानी गर्दा एक महिनाको भाका दिई तमसुक बनाउने र ऋणीले एक महिनाभित्र ऋण तिर्न नसकेको खण्डमा ऋण नविकरण गर्ने क्रममा हर्जना, जरिवाना, व्याज सबै जोडेर फेरि साँवामा परिणत गरी २४ प्रतिशत नै लिने गरेको पीडितले बताएका छन्।

यस विषयमा संकटग्रस्त सहकारीका सूचना अधिकृत केशव पौडेलसँग बुझ्दा सहकारीले १६ देखि १७ प्रतिशतसम्म मात्र व्याज असुल गर्न पाउने त्यहाँ भन्दा बढी लिन नपाउने र लिएको पाइए र ऋणीले उजुरी हाले कारबाहीमा पर्ने जानकारी गराए।

संकटमा पर्दै डिलाइट बहुउद्देश्यीय सहकारी 
ऋणीहरुसँग भाडाका केही व्यक्तिहरु देखि लिएर प्रशासनलाई समेत प्रयोग गरी ऋण उठाउँदै आईरहेको डिलाइट बहुउद्देश्यीय सहकारी संस्थाले भने बचतकर्ताहरुको आवश्यकता अनुसार रकम फिर्ता गर्न नसकेको बचतकर्ताहरुले बताएका छन्।

काठमाडौं महानगरपालिका रक्तकाली स्थाइ निवासी जिनीहिरा तुलाधरले आफूले खाई-नखाई जम्मा गरेको लगभग ६ लाख रुपैयाँ सहकारीले फिर्ता नगरेक‍ो गुनासो पोखेकी छिन।

ऋणीहरुसँग जबरजस्ती मिटरब्याजीमा उठाएको रकम फेरि मिटरब्याजमा लगानी गरेका कारण धेरै रकम फसेका कारणले पनि डिलाइट बहुउद्देश्यीय सहकारी संस्था यतिबेला संकटमा परेको बताइन्छ।