रवि लामिछानेले गरे रिगलको कैद मिनाहा बदरको फैसलालाई स्वागत
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिगल भनिने योगराज ढकाललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले योगराज ढकाल रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका हुन्।
उनले आफूहरूले कैद मिनाहाका लागि सडक र सदनमा पनि जोडदार माग गरेको र राष्ट्रपतिलाई समेत गएर भेटेको कुरा स्मरण गरे । उनले सरकारले यस त्रुटिबाट पाठ सिकेर आगामी दिनमा विधिको शासनको महसुस गर्नुपर्ने बताए।
उनले भने, ‘सर्वोच्च अदालतको यो फैसलालाई स्वागत गर्न चाहन्छौँ। सबैभन्दा जोडदार सडकमा पनि, सदनमा पनि, प्रक्रियामा पनि र राष्ट्रपतिलाई अपिल पनि गरेको विषय भएको हुनाले हामी यो फैसलाको स्वागत गर्न चाहन्छौँ।
महसुस गरिदिए मात्र पनि हामी सन्तुष्ट हुन्छौँ। राजीनामा धेरै परको कुराकानी भयो। राजीनामा चोक–चोकमा मागेर हिँड्ने कुरा होइन’ सभापति लामिछानेले भने– ‘नैतिक रूपमा सरकारले गरेको निर्णय, सर्वोच्चले उल्ट्याएको छ, आम नागरिक, समाजले भनेकै कुरा थियो।
हामीले पनि उठाउँदै आएको कुरा थियो। त्यसकारणले यसलाई मनन मात्रै गरिदिए भने पनि त्यो राजीनामा भन्दा ठुलो हुन्छ। आगामी दिनमा यस्ता कुरामा याद गर्नुपर्ने रहेछ।
विधिको शासन भन्ने कुरा पनि केही हो भन्ने महसुस गरिदिएछन् भने त्यो राजीनामा बराबर हुनेछ।उनले संसद्को चालु अधिवेशनमा जनअपेक्षा अनुरूप संसद्ले काम गर्न नसकेको बताए।