पोखरा महानगरले पठायो भूकम्प प्रभावित क्षेत्रमा राहतसहितको उद्धार टोली

पोखरा । कास्कीको पोखरा महानगरपालिकाले भूकम्पका कारण ठूलो जनधनको क्षति बेहोरेको जाजरकोट र रुकुम पश्चिममा उद्धार एवम् खोजतलासका लागि राहतसहित नगर प्रहरीको टोली पठाएको छ।

पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरा महानगरका वडाध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा उद्धार टोली प्रभावित क्षेत्रमा पठाएको जानकारी दिए।

उनका अनुसार महानगरका २ वटा सानो गाडी र १ ट्रक राहतसहित १७ जनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको हो । टोली आवश्यकता अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिने छ।

टोलीले राहत सामग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्ल्यांकेट र औषधि एवम् उपचारका आवश्यक सामग्री लिएर गएको मेयर आचार्यले जानकारी दिए।

पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुख लगायत अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको एक महिनाको पारिश्रमिकबाट सोध भर्ना हुने गरी १३ लाख १५ हजार रूपैयाँ बराबरको राहत सहयोग पठाइएको उनले बताए।

‘थप सामग्री र सहयोग महानगरपालिकाको विपद् कोषबाट खर्च बेहोरिने छ,’ मेयर आचार्यले भने।