टी-२० विश्वकप छनोट: सुपर ओभरमा नेपाललाई हराउँदै ओमानलाई उपाधि
काठमाडौं। टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ। सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो।
सुपर ओभरमा नेपालबाट ब्याटिङ गर्न कुशल भुर्तेल र गुलशन झा आएका थिए। ओमानका बिलाल खानले बलिङ गरेका थिए। बिलाल खानले पहिलो बलमा कुशल भुर्तेललाई पहिलो बलमै क्याच आउट गरेका थिए।
कुशल मल्ल ब्याटिङमा आएका थिए। दोस्रो बल कुशललाई योर्करमा डट राखे । तेस्रो बलमा एक रन लिएका थिए। चौथो बलमा गुल्सनलाई एक रन दिएपछि नेपालको जितको सम्भावना समाप्त भएको थियो। पाँचौं बलमा कुशल मल्लले चौका हाने। अन्तिम बलमा चौका लिएपनि जितको लागि पर्याप्त थिएन।
सुपर ओभरमा नेपालका अभिनाश बोहराले २१ रन दिएका थिए। ओमानका अकिब इल्यास र मोहम्मद नदिम ब्याटिङमा आएका थिए। अभिनाशले पहिलो बल अकिबलाई एक रन दिएका थिए। दोस्रो बलमा नदिमले डिप मिडविकेटमा छक्का हाने। तेस्रो बल उनले डट राखेका थिए ।
चौथो बलमा नदिमले पुन डीप स्क्यायर लेगमा छक्का हाने। पाँचौं बल वाइड फ्याँले। सुरुवाती चार बलमा १४ रन जोडेको थियो। पाँचौं बलमा नदिमले काउकर्नरमा छक्का हाने । पाँच बलमा २० रन बटुलेको थियो। अन्तिम बलमा एक रन जोडेपछि सुपर ओभरमा २१ रन बनाएको थियो।
त्यसअघि जितको लागि १ सय ८५ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो। त्यसपछि खेल सुपर ओभरमा पुगेको थियो।
नेपाललाई जितको लागि अन्तिम ६ बलमा ८ रन रोक्नु पर्ने थियो। सन्दीपले ७ रन दिँदै एक रन आउटसहित कुल ३ विकेट लिएपछि खेल सुपर ओभर भएको थियो। सन्दीपले पहिलो बल मोहम्मद नदीमलाई एक रन दिँदा दोस्रो बलमा आयन खानको विकेट लिएका थिए।
लङअनमा आएन खान रोहित पौडेलबाट ८ रनमा क्याच आउट भएका थिए। अर्को बलमा एज लागेर सकिल अहमद क्याच आउट भएपछि तीन बलमा ओमानलाई जितको लागि ७ रन चाहिँएको थियो। चौथो बलमा फयाज बटले एक रन लिए। अन्तिम दुई बलमा ६ रन चाहिँएको थियो। पाँचौं बलमा चौका भएको थियो।अन्तिम बलमा ओमानले एक रन बटुलेपछि खेल सुपर ओभर भएको थियो।