प्रदेश सचिवसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । कृषि उपकरण खरिद र वितरणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारी सहित चार जनाविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

अख्तियारले लुम्बिनी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव बैकुण्ठ अधिकारी, मन्त्रालयको महाशाखा प्रमुख तथा कृषि उपसचिव श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र आधुनिक कृषि किसान संसारका प्रबन्ध निर्देशक राजाराम तिवारी विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो।

अख्तियारले उनीहरुमाथि एक करोड ३१ लाख रुपैयाँ विगो माग दाबी गरेको छ । आर्थिक वर्ष २०७५र७६ मा कृषि यान्त्रिकीकरण कार्यक्रम सञ्चालनका क्रममा भ्रष्टाचार भएको अख्तियारको दावी छ ।

कृषि उपकरण बाड्ने भनेको कृषि किसान संसार प्रालि भरतपुरले भारतबाट उपकरण ल्याउने भनेर रकम लिएको तर स्पेसिफिकेसन र सम्झौता विपरितका कम गुणस्तरका सामान बाँडेर भ्रष्टाचार गरेको अख्तियारको दावी छ।

अख्तियारले प्रदेश सचिव अधिकारीमाथि कागजात अध्ययन र स्थलगत अनुगमन नगरी रकम भुक्तानीको टिप्पणी सदर गरेको आरोप छ । महाशाखा प्रमुख ज्ञवालीमाथि सम्झौता अनुसारको सामान बाडिए नबाडिएकोवारे कागजात परिक्षण नगरेको आरोप छ। उनले भुक्तानीका लागि टिप्पणी सिफारिस गरेको अख्तियारको दावी छ।

कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीमाथि सम्झौता अनुसार सामान खरिद भएनभएको, अनि आपूर्ति भएका सामानको गुणस्तर परिक्षण नगरेको आरोप छ।

उनीमाथि आपूर्तिकर्ताले पेश गरेको कागजात हुबहु भुक्तानीका लागि पेश गरेको आरोप छ । अख्तियारले आपूर्तिकर्ता कम्पनीका प्रबन्ध निर्देशक राजाराम तिवारीलाई समेत मुद्दा चलाएको छ।