सन्दर्भ : १०६ औं अक्टोबर क्रान्ति वर्षगाँठ :अक्टोबर समाजवादी क्रान्ति: नयाँ युगको शंखघोष
- हस्तबहादुर केसी
” क्रान्तिका कार्यदिशा अनुसारको संगठनले मात्र क्रान्ति सम्पन्न गर्दछ । यदि क्रान्तिकारी कार्यदिशा बमोजिमको संगठन भएन भने उक्त संगठनले क्रान्तिकारी कार्यदिशालाई खाइदिन्छ र प्रतिक्रान्तिको मतियार बन्न पुग्दछ ।” – लेनिन
कार्ल मार्क्स (१८१८-१८८३ ) र फ्रेडरिक एंगेल्स ( १८२० – १८९५ ) द्वारा सन १८४७ मा कम्युनिस्ट लिगलाई स्थापित गरियो । कम्युनिस्ट लिगको तर्फबाट मार्क्स र एंगेल्सले एक वर्ष लगाएर कम्युनिस्ट घोषणापत्रको मस्यौदा तयार पार्नु भयो र सन १८४८ फेब्रुअरी २१ दिन साम्यवादी समाजको महान् लक्ष्य बनाउनु भई लण्डनबाट कम्युनिस्ट घोषणापत्र , मार्क्सवाद का जारी गर्नु भयो। त्यसपछि विश्व सर्वहारा वर्गले पहिलोपटक आफ्नो वर्गको मुक्तिको सैध्दान्तिक हतियार प्राप्त गर्यो।
वर्तमान युगमा सर्वहारा श्रमिक वर्गलाई सबैखाले शोषण , उत्पीडन र बन्धनबाट मुक्त गर्ने कम्युनिस्ट सिध्दान्त मार्क्सवाद – लेनिनवाद – माओवादको विकसित भएको छ ।
मार्क्सवाद – लेनिनवाद – माओवादको विकासक्रममा अनेकन उतार चढाव , फूट , विभाजन , एकता , क्रान्ति र प्रतिक्रान्तिका श्रृङखलाहरु विकसित भए । यश क्रममा प्रथम पेरिस कम्युन ( १८७१ ) , पछि दोस्रो कमरेड स्तालिनको मृत्यु ( १९५३ ) पछि र तेस्रो चीनमा कमरेड माओ त्सेतसङ ( १९७६ ) पछि निरन्तरतामा क्रमभंग हुन पुग्यो।
पेरिस कम्युनको निरन्तरतामा लामो समयसम्म भएको अन्योलताको जिम्मेवारी तत्कालीन नेतृत्वपंक्तिको कम्युनिस्ट पार्टीको अभाव , अराजकता , व्यक्तिवादिता र अदूरदर्शीताको कारण थियो भने रुसी र चिनिया क्रान्तिपछि भएको प्रतिक्रान्ति मार्क्सवाद भित्र संशोधनवादीहरुको पकड हुनुमा रह्यो।
सोभियत संघमा साम्यवादी विकासलाई अवरुद्ध गर्न ख्रुश्चेभी संशोधनवाद प्रमुख जिम्मेवार छ भने वैज्ञानिक समाजवाद निर्माणमा लम्किरहेको चिनिया समाजलाई पुँजीवादमा परिणत गराउन देङ सियाओ पेङको संशोधनवादी विचार र कार्यदिशा प्रमुख जिम्मेवार रहेको छ।
मार्क्स , लेनिन र माओ त्सेतुङले संशोधनवादी खतराका विरुद्ध लड्नका लागि मार्क्सवादी सिध्दान्त , विचार , रणनीति र कार्यनीतिको नयाँ स्तरमा विकास गर्नु भयो।
कमरेड माओ त्सेतुङले विश्व कम्युनिस्ट आन्दोलनको सकारात्मक र नकारात्मक शिक्षाबाट पाठ सिक्दै ” क्रान्तिको निरन्तरता ” को सिध्दान्त ” महान् सर्वहारा साँस्कृतिक क्रान्ति ” को राजनीतिक फौजी कार्यदिशा विकास गर्नुभयो।
यसरी विश्व कम्युनिस्ट आन्दोलनमा मार्क्सवाद संगसंगै संशोधनवाद पनि उत्तिकै बलशाली बन्दै आएको छ। आज नेपालमा र विश्वमा संशोधनवादी दब्दबाले रातो झण्डा विरुद्ध पुँजीवादी साम्राज्यवादको सेवा गरिरहेको छ ।
विश्व कम्युनिस्ट आन्दोलनमा पहिलोपटक मार्क्सवादको आंशिक प्रयोग सन १८७१ मा पेरिस कम्पुनमा भयो भने सफल प्रयोग सन १९१७ मा भी . आई. लेनिनको नेतृत्वमा रुसमा सम्पन्न समाजवादी क्रान्तिले पुरा गरेको थियो।
सोभियत समाजवादी व्यवस्था आज इतिहास बनिसकेको छ। यद्यपि रुसी क्रान्ति र सोभियत समाजवादी व्यवस्थाको महत्त्व र उपदेयता आज पनि उत्तिकै सान्दर्भिक , आौचित्यपूर्ण र ऐतिहासिक छ।
किनभने महान् रुसी अक्टोबर समाजवादी क्रान्ति एक युगान्तकारी परिघटना थियो , जसले विश्वमै पहिलोपटक पुँजीपतिवर्गको हातबाट सत्ता खोसेर सर्वहारा श्रमजीवी वर्गको हातमा सुम्पेको थियो । साथै महान् रुसी अक्टोबर समाजवादी क्रान्तिले विश्वमै पहिलोपटक सर्वहारा वर्गको अधिनायकत्व कायम गरेको थियो ।
यसरी कार्ल मार्क्सको सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सिध्दान्तको व्यवहारिक प्रयोग महान् रुसी अक्टोबर समाजवादी क्रान्तिमा भयो । सन १८७१ मा भएको पेरिस कम्युनको स्थापना र त्यसको अस्थायी धक्काको मुख्य जगमा रुसी समाजवादी क्रान्ति भएको थियो।
कार्ल मार्क्सको जीवनकालमा सर्वहारा वर्गले स्थापना गरेको पेरिस कम्युन प्रतिक्रियावादी षड्यन्त्रबाट ७२ दिनमै प्रतिक्रान्तिमा बदलिएको थियो । पेरिस कम्युन कम्युनार्डहरुको नेतृत्वमा भएको थियोे भने रुसी समाजवादी क्रान्ति बोल्सेभिकहरुको नेतृत्वमा सम्पन्न भएको थियो ।
मजदुर वर्ग निर्णायक शक्ति रहेको रुसी क्रान्तिमा किसान वर्ग क्रान्तिको शक्तिशाली सहयोगी बनेको थियो । सन १९०५ मा विद्रोह असफल भए पनि सन १९१४ बाट शुरु भएको पहिलो विश्वयुध्दसंगै अक्टोबर समाजवादी क्रान्तिका आधार खडा भएको थियो । लेनिनले विश्वयुध्दलाई साम्राज्यवादीहरुकाबीचको लडाइँ भएकाले त्यसमा संलग्न नहुन विश्वव्यापी आह्वान गर्नुभएको थियो ।
रुसको सन १९१७ फेब्रुअरीमा सम्पन्न पुँजीवादी प्रजातान्त्रिक क्रान्तिले जारशाहीको अन्त्य गरेको थियोे । लेनिनले पुँजीवादी क्रान्तिले साम्राज्यवादी उत्पीडनबाट जनतालाई मुक्त गर्न सक्दैन , त्यसैले क्रान्तिकारीहरुले त्यसको विरोध गर्नुपर्छ र क्रान्तिलाई निरन्तरता दिन आह्वान गर्नुभएको थियो ।
त्यसको फलस्वरूप सन १९१७ अक्टोबर २५ ( रुसी नयाँ पात्रो अनुसार सन १९१७ नोम्वर ७ ) तारिखमा लेनिनको नेतृत्वमा महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको थियो । रुसी अक्टोबर समाजवादी क्रान्तिले क्रान्तिको नयाँ स्वरूप निर्माण गर्नुको साथै क्रान्तिका लागि नवीन चेतनाको विश्वव्यापी सञ्चार गराएको थियो।
महान् रुसी अक्टोबर समाजवादी क्रान्तिले वैज्ञानिक समाजवादको आधारशिला निर्माण गर्दै उत्पादनका साधनमाथि पहिलोपटक सर्वहारा वर्गको हातमा हस्तान्तरण गर्ने आधार तयार गरेको थियो । मानव जातिको इतिहासमा अक्टोबर क्रान्ति नयाँ युगको शुरुवात थियो । यसले सर्वहारा क्रान्तिको मार्गचित्र कोरिदिएको थियो।
रुसी अक्टोबर समाजवादी क्रान्तिको सफलता र शिक्षाबाट विश्वका अन्य कैयौं देशहरू जस्तै चीन , भियतनाम , उत्तर कोरिया , कम्बोडिया , क्युवा आदि देशमा क्रान्ति सम्पन्न भएका थिए भने पूर्वी युरोपका २० आौं देशहरूमा र अफगानिस्तान , पूर्वी जर्मनीमा रुसी मोडलको समाजवाद लागू गरिएको थियोे ।
महान् रुसी अक्टोबर समाजवादी क्रान्ति केबल समाजवाद स्थापना गर्ने क्रान्ति मात्र थिएन , त्यो साम्राज्यवाद विरोधी क्रान्ति र नयाँ युगको शंखघोष पनि थियोे ।
रुसी अक्टोबर समाजवादी क्रान्तिपछि संसारभरका न्यायप्रेमी तथा मुक्तिकामी जनसमुदायले उपनिवेश र साम्राज्यवादको घोर विरोध गरेका थिए। ती उपनिवेश र साम्राज्यवादको जाँतोमुनी पिल्सिएका देशहरूले राष्ट्रिय स्वतन्त्रता प्राप्त गरेका थिए।
रुसी क्रान्तिले वैज्ञानिक समाजवादी क्रान्ति मात्र होइन , पुँजीवादी जनवादी क्रान्तिको बिगुल फुकेको थियो। पुँजीवादी क्रान्तिले मौलिक तथा प्रजातान्त्रिक अधिकारका लागि विश्वव्यापी रुपमा जागरण पैदा गरेको गराएको थियो।
रुसी क्रान्तिपछि स्थापित सोभियत संघले विश्व साम्राज्यवादलाई टक्कर दिएको थियो । साम्राज्यवाद र उपनिवेशवादबाट चलाइरहेका पुँजीवादी देशका लागि रुसी क्रान्ति र त्यसले दिएको सन्देश ठूलो चुनौती बनेको थियो।
रुसी मोडलको आर्थिक,सामाजिक तथा राजनीतिक मोडल संसारका लागि अनुकरणीय बनेको थियो। शोषणरहित समाज निर्माणको आधार रुसी क्रान्तिले खडा गराएको थियो । पुँजीवादी शोषणको चिहान खन्ने र नौलो समाज र संस्कृति निर्माणमा महान् रुसी अक्टोबर समाजवादी क्रान्तिको ऐतिहासिक भूमिका रहेको थियो ।
ठूलो विश्वव्यापी प्रभावका साथ सन १९१७ मा सम्पन्न महान् अक्टोबर क्रान्तिसंगै विश्वमा कम्युनिस्ट पार्टीहरु तीब्र रुपमा निर्माण भएका थिए। सन १९१८ मा जर्मन कम्युनिस्ट पार्टी , १९२१ मा चिनिया कम्युनिस्ट पार्टी र १९२८ मा भारतीय कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो।
नेपालमा २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियोे । पेरिस कम्युन निर्माणको ४६ वर्ष पछि र अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्ष पछि नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियोे ।
अक्टोबर समाजवादी क्रान्तिले वैज्ञानिक समाजवादी आन्दोलनलाई बलप्रयोगको विधिबाट सम्पन्न गर्न सकिने पाठ सिकाएको थियो । परिणामत: विश्वका कम्युनिस्टहरूले सशस्त्र बलप्रयोगको विधि प्रयोग गरेका थिए । अक्टोबर क्रान्तिसंगै विश्वमा वैज्ञानिक समाजवादी क्रान्तिको निर्माण भएको थियो।
परिणामत:२० आौं शताब्दी सशस्त्र संघर्षको युग जस्तै भएको थियो । उदाहरणत: चिनिया नयाँ जनवादी क्रान्ति , भियतनामी क्रान्ति , कोरियान क्रान्ति ,कम्बोडियान क्रान्ति , क्युवाली क्रान्तिलाई लिन सकिन्छ । रुस र चीनमा प्रतिक्रान्ति पछि पनि पेरु र नेपालमा दशौं वर्षसम्म सशस्त्र सञ्चालन गरिएको थियो भने भारतमा अहिलेसम्म पनि भाकपा ( माओवादी ) सशस्त्र जनयुद्ध सञ्चालन गरिरहेको छ ।
पहिलो र दोस्रो विश्वयुध्द र दोस्रो विश्वयुध्दलाई अलग गर्दा पनि विश्वमा अनगिन्ती सशस्त्र संघर्ष भएको इतिहास ताजै छ ।
सन १९५० देखि १९५३ सम्म कोरियाली प्रायदीपको युध्द , सन १९६५ देखि १९७३ सम्मको भियतनामको युध्दजस्ता ठूलो युध्दहरु अक्टोबर क्रान्तिका अर्थात् विश्व कम्युनिस्ट आन्दोलनसंग जोडिएर भएका थिए । पूर्वी युरोप र एशिया क्षेत्रमा महान् रुसी अक्टोबर समाजवादी क्रान्तिको प्रभाव बढी परेको थियो।
माथि पनि उल्लेख गरिएको छ , विश्वका धेरै देशहरूमा कम्युनिस्ट पार्टीहरुको स्थापना भएका थिए । सन १९४५ मा उत्तरी भियतनाम र उत्तर कोरियान सशस्त्र क्रान्ति सम्पन्न भएका थिए । साथै सन १९४९ मा चिनिया कम्युनिस्ट पार्टी र त्यसका नेता माओ त्सेतुङको नेतृत्वमा महान् चिनिया नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियोे ।
ती क्रान्तिपछिको साम्यवादी सत्ता सञ्चालनको विषय चर्चायोग्य समेत रह्यो । यस १०६ वर्षको अबधिमा साम्यवादी सत्ताले विश्वलाई के दियो ? के गुमायो ? भनेर हेर्न आवश्यक छ । यो विषय अक्टोबर क्रान्तिको विषयसंगै जोडिन्छ र जोडिन आवशछ ।१०६ वर्षको यो अबधिमा सन १९२२ मा सोभियत सङ्घको निर्माण भएको थियो भने १९९० मा सोभियत सङ्घ विघटन भयो । पहिलो विश्वयुध्दको समाप्ति नहुँदै भएको महान् रुसी अक्टोबर समाजवादी क्रान्तिले दोस्रो विश्वयुध्दलाई रोक्न सकेन । केही तानाशाही सत्ताहरु ढले भने राष्ट्रिय स्वाधीनताको आन्दोलन उत्कर्षमा पुग्यो ।
यश १०६ वर्षको अबधिमा प्रायः सबै आौपनिवेशीक देशहरू स्वतन्त्र भए ।सर्वहारा वर्गको सत्ता निर्माण गर्ने नाममा बुर्जुवा तथा नोकरशाही सत्तामाहरुको अगाडि ठूला ठूला चुनौती खडा भयो । महान् रुसी अक्टोबर समाजवादी क्रान्तिलाई आदर्श मान्दै बनेका कम्युनिस्ट पार्टीहरुले सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण योगदान गरे ।
विश्व सर्वहारा वर्गको मुक्तिको मार्गदर्शक सिध्दान्तका रुपमा रहेको मार्क्सवादले परिकल्पना गरेको दर्शन र राजनीतिक क्रान्तिको आौचित्य र महत्त्व अहिले पनि त्यत्तिकै सान्दर्भिक र आवश्यक छ भने महान् रुसी अक्टोबर समाजवादी क्रान्तिको आधारस्तम्भ बनेको अक्टोबर क्रान्तिको प्रभाव १०६ सम्म पनि घटेको छैन बरु अरु बढेको छ,किनभने आजको युग साम्राज्यवाद र विश्व सर्वहारा क्रान्ति बीचको भीषण संघर्षको युग हो। महान् अक्टोबर समाजवादी क्रान्ति साम्राज्यवाद विरोधी क्रान्ति थियो ।
अर्को कुरा के हो भने महान् रुसी अक्टोबर समाजवादी क्रान्तिको युगान्तकारी महत्त्वलाई विश्वका कुनै पनि साम्राज्यवादी र पुँजीवादीहरुले नष्ट गर्न सक्ने छैनन् । किनभने मुक्तिकामी विश्व जनसमुदायको अगाडि कुनै पनि ताकतले विजय प्राप्त गर्न सक्ने छैन । विश्वभरिका श्रमजीवी वर्गको आदर्श बनेर युगौयुग महान् रुसी अक्टोबर समाजवादी क्रान्तिले दिशानिर्देश गरिरहने छ ।
समकालीन विश्वमा संशोधनवाद , पुँजीवाद र साम्राज्यवादको एकसाथ चिहान नखनी विश्व सर्वहारा वर्गले सफलता पाउन सक्दैन । नेपाल लगायत विश्वभर कम्युनिस्ट पार्टीको लाल झण्डा बोकेका नवसंशोधनवादीहरु र साम्राज्यवादी पुँजीवादी लुटेराहरुलाई एकसाथ चिहानमा नपुरेसम्म विश्व सर्वहारा वर्गले मुक्ति प्राप्त गर्न सक्ने छैन। यो ऐतिहासिक कार्यभार पुरा गर्न विश्व सर्वहारा वर्गले आफूलाई मार्क्सवाद – लेनिनवाद – माओवादको वैचारिक उचाइमा पुर्याउन जरुरी छ।
यसका लागि कम्युनिस्ट अन्तर्राष्ट्रियको आवश्यकतालाई पूर्णता दिन विश्व सर्वहारा वर्गले कदम चाल्न र तयारी गर्न अनिवार्य सर्त बनेको छ। क्रान्तिका लागि नयाँ ढंगको कम्युनिस्ट पार्टी र त्यसै अनुरुपको क्रान्तिकारी संगठन आवश्यक पर्छ भन्ने कुरालाई पनि सर्वहारा वर्गले आत्मसात गर्न जरुरी छ। १०६ पहिले महान् रुसी अक्टोबर समाजवादी क्रान्तिले दिएको सन्देश पनि यही नै हो।
( लेखक : वरिष्ठ मार्क्सवादी लेखक तथा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।