यी प्रदेशमा वर्षा,केही ठाउँमा हिमपातको सम्भावना
काठमाडौं । पश्चिम नेपालका केही ठाउँमा वर्षा भएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा भएको हो।
पश्चिमी वायुको प्रभावका कारण पश्चिम नेपालमा मौसम बदली भई वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।
पश्चिम नेपालको मौसम सोमबारसम्म बदली हुने सम्भावना रहेको छ । आइतबार वर्षा र हिमपातको सम्भावना रहेको र सोमबार उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको पूर्वानुमान मौसमविद्को छ।
हिउँद सुरु भएसँग वर्षा र हिमपात हुँदा तापक्रम क्रमिक रुपमाले घटिरहेकोले जाडोबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले सचेत गराएको छ।
भूकम्पले प्रभावित भएका जाजरकोट र रुकुम पश्चिममा पनि हल्का वर्षा भएको छ। त्रिपालमा बसेका पीडित झन् प्रभावित भएका छन्।