आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए दम्पती

सांकेतिक तस्वीर

धनगढी। कञ्चनपुरमा श्रीमान् र श्रीमती आफ्नै घरभित्र मृत अवस्थामा भेटिएका छन्। लालझाडी गाउँपालिका–१ का २६ वर्षीय श्यामकुमार राना र उनकी श्रीमती २५ वर्षीया पुष्पा राना आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाशबहादुर डाँगीका अनुसार घरको धुरीमा झुण्डिएको अवस्थामा उनीहरुको शव भेटिएको थियो।

उनीहरुको तीन वर्षीया बच्चा रोइरहेको थाहा पाएपछि नजिकै बस्ने उनकी हजुर आमाले घरमा पुगेर हेर्दा झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्।

उनीहरुको मृत्युको कारण खुलिसकेको छैन। प्रहरी नायब उपरीक्षक डाँगीका अनुसार उनीहरुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। अनुसन्धानपछि मात्र उनीहरुको मृत्युबारे थाहा हुने प्रहरीले जनाएको छ। प्रहरीले त्यसबारे थप अनुसन्धान थालेको छ।