चाडपर्व मनाउन घर जाँदा काठमाडौंका सार्वजनिक यातायातलाई चिन्ता
काठमाडौं। सधैंजसो भीडभाड हुने काठमाडौंका सडकमा सवारी साधन न्यून, चाड मनाउन घर गए पछि सार्वजनिक सवारीलाई यात्रु पाउनै समस्या।
सँधै जसो भिडभाड र खचाखच हुने सार्वजनिक सवारी साधनहरु यतिबेला भने निकै न्युन यात्रुहरु राखेर सञ्चालन हुन बाध्य छन्। तिहार मनाउनका लागि ठुलो संख्यामा सर्वसाधारणहरुले राजधानी छोडेर आफ्नो गृहजिल्ला गएसँगै अहिले यसको सिधा असर काठमाडौँभित्र चल्ने सार्वजनिक यातायातहरुमा देखिएको छ।
तिहार मनाउनका लागि लाखौँको सर्वसाधारणहरु आफ्नो गृह जिल्ला गएका छन्। सवारी साधन र मानिसहरुले सधैँजसो भरिभराउ र भिडभाड हुने राजधानी काठमाडौँका सडक, चोक, फुटपाथ लगायतका क्षेत्रहरु खाली भएका छन्। जसले गर्दा काठमाडौँभित्र सवारी साधन संचालन गर्ने यातायात व्यवसायी र मजदुरहरु समस्यामा परेका छन् ।
बिहान देखी बेलुकासम्म सवारी साधन चलाउदा पनि इन्धन हाल्ने खर्च नउठेको यातायात व्यवसायीहरु बताउँछन्। दिनभरी काम गर्दापनि बिहान बेलुका हातमुख जोड्ने जोहो नभएपछि सवारी संचालन गर्ने मजदुरहरु समस्यामा परेका हुन्।
सामान्य अवस्थामा दिनमा १५ सय देखी २ हजार रुपैयाँसम्म कमाउने यातायात श्रमिकहरुलाई अहिले तिन चार सय रुपैयाँ कमाउन पनि मुस्किल परेको छ । आफुहरुले चाडवाडको समयमा कमाउनकालागि भन्दापनि सेवाभावले काम गरेको यातायात मजदुरहरु बताउछन्।
त्यसो त अहिले काठमाडौँ भित्र यात्रा गर्नकालागि यात्रुलाई पनि समस्या छ। सामान्य समयमा भन्दा चाडवाडमा न्युन सवारी साधन संचालन भएसँगै सार्वजनिक यातायात प्रयोगकर्ता समस्यामा परेका हुन्।
जसले गर्दा आफुले गर्नुपर्ने दैनिक कार्यहरुमा यसको प्रत्यक्ष असर परेको सार्वजनिक यातायात उपभोगकर्ता बताउँछन्।
दशै, तिहार जस्ता ठुला चार्डहरुमा काठमाडौँ लगायत नेपालका ठुला सहरहरुबाट सर्वसाधारणहरु आफ्नो गृह जिल्ला तर्फ जाने भएकाले सरकारले उपत्यका भित्रका यातायात व्यवसायी, मजदुर, र सर्वसाधारणका समस्या सम्बोधन हुने खालका राहतका प्याकेजहरु ल्याउनु पर्ने आवश्यकता देखिन्छ।