देशको जनशक्ति विदेश पठाएर कहिलेसम्म मख्ख पर्ने सरकार ?
-अनुसा थापा
बुढापाकाले नचिनेको व्यक्तिसँग जानुहुन्न, उनीहरुले दिएको खानुहुन्न भनेर बालबालिकालाई अर्ती दिइरहेका हुन्छन्। यता, अभिभावकले पनि आफ्ना बालबच्चालाई यो कुरा स्मरण गराइरहेका हुन्छन् । मुलुकमा विगतदेखि नै मानव बेचबिखन हुँदै आइरहेको छ। आर्थिक अवस्था कमजोर र अशिक्षाको फाइदा तस्करहरुले उठाउने गरेका छन् । रोजगारीको प्रलोभन देखाएर नेपाली चेलीहरुलाई भारतमा लगेर बेचिन्छ।
त्यस्तै, विवाह गरेर ढोंग रचेर पनि तस्करहरुले महिला बेचबिखन गर्दै आएका छन् । सीमा नाका खुल्ला भएकाले तस्करहरुले सहजै नेपाली चेली भारत लगेर बेच्छन् । सीमाबाट हुने तस्करी रोक्न प्रहरीको बाक्लो गस्ती खटाइएको हुन्छ । तैपनि प्रहरीको आँखा छलेर तस्करहरुले यो धन्दा चलाइरहेका छन् । कतिपयलाई त प्रहरीले शंका लागेपछि समात्ने पनि गरेको छ ।
मानव बेचबिखन अपराध हो । बेचिएकी चेली वा तिनको परिवारले उजुरी दियो भने बेचबिखन गर्नेले लामो सजाय काट्नुपर्ने हुन्छ । तर, अहिले त सरकारले नै जनता बेचिरहेको छ । रोजगारीको नाममा नेपाली विदेशी मुलुकमा बेचिएका छन्, त्योपनि मोटो रकम खर्च गरेर । हरेक दिन हजारौं नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका छन्।
लाखौं रुपैयाँ खर्च गरेर नेपाली अर्काको देशमा रगतपसिना चुहाउन हिँडेका छन्। नेपाली लाई यसरी विदेशी जान बाध्य पार्ने त सरकार हो। शिक्षाको नाममा बाहिरिनेको संख्या केही वर्षयता ह्वात्तै बढेको छ। विदेशी मुलुकमा नेपालीको संख्या अचाक्ली बढेको छ भने नेपाल रित्तिँदै गएको छ । तर, सरकारको यसतर्फ ध्यानाकर्षित हुन सकेको छैन्। माध्यमिक शिक्षा पूरा गरेकाहरु नेपालमा बस्नै चाहँदैनन्।
तिसौं लाख रुपैयाँ खर्च गरेर अष्ट्रेलिया, अमेरिका, क्यानडा, युरोपलगायत विभिन्न मुलुक जान्छन् । उनीहरु फर्केर आउलान् र नेपालका लागि केही गर्लान् भनेर नसोच्दा पनि हुन्छ । आर्थिक अवस्था कमजोर भएकाहरु ऋणधन गरेर मलेसिया र खाडी पुगेका छन् । भएका जनशक्ति धमाधम पलायन भइरहेका छन् । देशमा बुढाखाडा मात्रै बाँकी छन् । सक्षम जनशक्ति, देशलाई आवश्यक पर्नेहरुलाई समेत सरकारले रोक्न सकेन् ।
अस्पताल गयो, डाक्टर छैनन् । विद्यालयमा क्षमता भएका शिक्षक छैनन् । कृषिप्रधान देश आज खाद्यान्न आयात गर्ने देश बनेको छ । गाउँको जग्गा सबै बाँझो छ । कोही मर्यो भने मलामी जाने मान्छे छैनन् । बुढा भएका बुवाआमा यहाँ छन्, छोराछोरी बाहिर । घरका सदस्य विदेश नगएका परिवार अब नेपालमा सायदै भेटिएला । बुवाआमाले दुःख गरेर छोराछोरी पढाउँछन्, हुर्काउँछन् ।
विदेशमा गएर बसोस् भनेर बुवाआमाले छोराछोरी पढाएका त थिएनन् होला ? तर, सरकारले अवस्था नै त्यस्तो बनाइदियो। सरकारले आफ्ना नागरिकतालाई यही रोक्न सकेन् । देशकै लागि केही गर्नुपर्छ भनि सिकाउन असफल भयो, सरकार।
रोजगारीको अवसर नभएपछि नचाहँदाचाहँदै पनि आफ्ना सन्तानलाई विदेश पठाउन बाध्य छन्, अभिभावक। छोराछोरीले विदेश गएर कमाएका त छन्।तर, दुःखको पाटो के छ भने बुवाआमा बिते भने यहाँ दागबत्ती दिनेसमेत कोही हुँदैनन् ।
कि त लाशलाई छोराछोरी नआइपुगुञ्जेल ढाकेर राख्नुपर्छ कि अन्यले नै दागबत्ती दिनुपर्छ । यस्तो अवस्था आउनु साँच्नै नै दुःखद् विषय हो। किसानले खसीबोका पाल्छन्। अनि त्यो ठूलो भएपछि बगलेलाई बेच्छन् । तर, जनता त खसीबोका होइनन्। विडम्बना, सरकारले यो कुरा बुझेन्।
शिक्षा र रोजगारीका लागि जनता बेचिनुपरेको छ। सरकार नेपालीले विदेशबाट पठाएको रेमिट्यान्सबाट मख्ख छ । अहिले देशको अर्थतन्त्र रेमिट्यान्सले धानिएको छ भन्ने कुरा लुकाएर लुक्दैन्। रेमिट्यान्सका लागि सरकारले आँखा चिम्लेर नेपाली बेच्यो । तर, त्यसबाट मुलुकलाई भएको घाटा सरकारले निक्र्यौल नै गरेको छैन् । आफ्नो मुलुकको विकासका लागि खटिनुपर्ने नेपाली आज अर्काको देशका लागि श्रम गरिरहेका छन् ।
उनीहरुले अन्य देशको विकासमा योगदान पुर्याएका छन्। विडम्बना, नेपाल जस्ताको त्यस्तै छ । झन् दिनप्रतिदिन गुज्रिदै गएको छ। नेपालको विकास होला, माथि उठ्ला भनेर अब नसोच्दा पनि हुन्छ। किन कि विकास गर्नका कोही पनि छैनन्। जुन देशले नेपाली लान्छ, उसले कति श्रमशोषण गर्छ ? सरकारलाई थाहा छ ? कम तलबमा धेरै काम लगाउँछ। नेपालीहरुले आफ्नो श्रमको मूल्यसमेत पाउन सकेका छैनन्।
कति नेपाली विदेशमा अलपत्र छन्।
खान बस्नकै समस्या भएको कुराहरु समेत बाहिर आइरहेको हुन्छ। तैपनि सरकार आँखा चिम्लेर बसेको छ। आफ्ना जनतामाथि शोषण हुँदासमेत सरकार टुलुटुलु रमिता हेर्छ । नेपालीले चर्को घाममा आफ्नो पसिना चुहाएका छन् । बल हुनेले विदेशमा पनि मजदुरी नै गरेका छन् । पढाइलेखाइ भएकाहरुले मात्र केही ढंगको काम पाएका होलान् ।
खाडी गएका अधिकांश नेपलीलाई मिर्गौलाको समस्या देखिन्छ। रोग लाग्नेबित्तिकै विदेशी मुलुकले नेपालीलाई फिर्ता पठाइदिन्छन्। यता, काम गर्ने क्रममा मृत्यु भएका नेपालीलाई कफिनमा हालेर फर्काउँछ।
नेपालले के पायो त ? रोगी भएर फर्किएका नेपालीसँग उपचार गर्ने पैसासमेत हुँदैन् । उनीहरु रोग पालेर मर्ने दिन पर्खेर बस्न बाध्य छन्। मरेका नेपालीको आफन्तको बिचल्ली हुन्छ।
नेपाल सरकारले सामान निर्यात गर्न नसकेपछि नेपाली निर्यात गर्न थाल्यो । अबको केही वर्षमै नेपालले जनता निर्यातको रेकर्ड तोड्ने निश्चित छ। ‘गिनिज वर्ल्ड बुक’ मा नेपालले नाम लेखाउँछ नै। श्रम मन्त्रालय, श्रम विभाग, म्यानपावर र कन्सल्टेन्सीहरुले १८ वर्ष पुग्ने बित्तिकै पलायन हुनुपर्छ भनेर सिकाइरहेको छ।
श्रम मन्त्रालय र विभागको स्थापना नेपाली बेच्नका लागि भएको रहेछ भन्ने छर्लङ्ग भएको छ।
मजदुरको हकअधिकारका लागि लड्ने उद्देश्यले स्थापना गरिएको मन्त्रालय र विभाग कतिबेला नेपाली बेच्ने अड्डा बन्यो ? कसैले थाहा पाएनन् ।
, फर्म, संघसंस्थाले पारिश्रमिक दिएन्, तोकिएको समयभन्दा धेरै समय काम लगायो, मजदुरहरुको हकअधिकार खोस्यो, श्रम शोषण गर्यो भने मजदुरहरुलाई न्याय दिलाउने काम श्रम मन्त्रालय र विभागको हो। तर, मजदुरको विषयमा श्रम मन्त्रालय र विभाग मौन छ ।
किन कि श्रम मन्त्रालय र विभागमा रहेको पदाधिकारीहरु सबै म्यानपावर र कन्सल्टेन्सीको दलाल बने । म्यानपावर र कन्सल्टेन्सीको पक्षमा उनीहरुले काम गर्छन् । मजदुरहरुले अहिलेपनि आफ्नो श्रमअनुसारको तलब पाएका छैनन् । उनीहरुलाई तोकिएको समयभन्दा धेरै काम लगाइन्छ । न उपचार खर्च दिइन्छ न चाडपर्व पेश्की।तर, सरोकारवाला निकाय हात बाँधेर बसेको छ ।
मजदुरको पक्षमा को बोल्ने ? जहाँ हेर्यो दलालको साम्राज्य छ । मजदुरहरु मरेको मर्यै । सरकारले शिक्षाको नाममा वर्षेनि अर्बौं रुपैयाँ खर्च गरिरहेको छ।
सबै नेपाली विद्यार्थी विदेश जाने हो भने शिक्षाको नाममा अर्बौं रुपैयाँ छुट्याउनुको के औचित्य ? शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकमै गुणस्तरीय शिक्षा छ भनेर विद्यार्थीमा विश्वास दिलाउन सकेन् ।
बरु, धमाधम ‘एनओसी’ बाँड्यो। १२ कक्षा पास गरेको हुँदैन्,विद्यार्थीहरुले विदेश जाने र त्यतै बस्ने ‘माइन्डसेट’ गरिसकेका हुन्छन् । नेपालमा पनि ठूल्ठूला कलेज खुलेका छन्।
प्रविधिमा कलेजहरुले लगानी गरिरहेका छन्। तर, त्यो सब ‘वालुवामा पानी’ भएको छ। अहिले ब्याचलर्स पढ्ने विद्यार्थी नभएको भनि कलेजहरुले व्यापक गुनासो गरिरहेका छन्। विद्यार्थी होस् पनि कहाँबाट ? सबै १२ सकिनेबित्तिकै विदेश होमिहाल्छन्।
नेपाली विद्यार्थीहरु धमाधम विदेश जाँदा सरकारलाई धेरै नोक्सानी भएको छ । तैपनि सरकारले नजरअन्दाज गरिरहेको छ। एकातिर नेपाली विद्यार्थीले मोटो रकम विदेश गएर पढ्ने नाममा खर्च गरिरहेका छन् भने अर्कोतिर उनीहरु उता अध्ययन सकाइसकेपछि पनि फर्केर आउँदैनन्। यता, करोडौं लगानी गरेर खोलिएका ठूल्ठूला कलेजहरु डुब्ने अवस्थामा पुगेको छ।
नेपालीहरुको देखासिकी गर्ने बानी छ । भनिन्छ नि,‘अरु घोडा चढ्यो भन्दैमा आफू धुरी चढ्नुहुँदैन्।तर, नेपालीले यो कुरा बुझ्दैनन्। छिमेकीका छोराछोरी विदेश गयो भन्दैमा आफ्नालाई पनि पठाउनुपर्छ भन्ने छैन्। नेपालमा बसेर पनि केही सकिन्छ भन्ने कुरा अभिभावकले सिकाउन सकेनन् । साना प्रयासले सफलताको उचाइ चढेका धेरै उदाहरण नेपालीले नै दिएका छन्।
विदेशी मुलुकको नागरिकता पाउनु ठूलो कुरा होइन्। तर, त्यहाँ गएपनि नेपालमै फर्किएर केही गर्नुले चाँहि ठूलो महत्व राख्छ । छोराछोरीले विदेशबाट कमाएर पठाउँदा बुवाआमा खुसी हुन्छन् । जब आफूलाई छोराछोरीको आवश्यकता पर्दछ र साथमा कोही हुँदैनन्, त्यतिबेला बुवाआमालाई एकदमै धेरै गल्तीको महसुश हुन्छ। त्यसैले सरकार र अभिभावक बेलैमा यसविषयमा सचेत हुन जरुरी छ।